Feature

चिनी उत्पादक संघ चिनीको मुल्य ९० पुर्याउने कसरतमा

काठमाडौं – स्वदेशी उद्योग जोगाउन भन्दै चिनीमा परिणात्मक बन्देज लागाएको सरकार संग चिनी उद्योगीले चिनीको मूल्य बढाउन माग गरेका छन्।

नेपाल चिनी उत्पादक संघले सरकारलाई भ्याट बिना प्रतिकिलो चिनी ७८ रुपैयाँ तोक्न माग गरेको हो ।

संघले चिनी उत्पादन लागत बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसमक्ष प्रतिकिलो चिनीको लागत मूल्य भ्याटबाहेक ७८ रुपैयाँ १० पैसा कायम गर्न प्रस्ताव गरेको छ। संघका अध्यक्ष शशिकान्त अग्रवालले विभागमा प्रस्ताव गरेको मुल्य अनुसार भ्याट १३ प्रतिशतका दरले १० रुपैयाँ १५ पैसा जोड्दा चिनीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ २५ पैसा हुन आउँछ।

प्रस्तावित मूल्य कायम हुने हो भने उपभोक्ताले प्रतिकिलो चिनीलाई ९० देखि ९५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। अध्यक्ष अग्रवालले नयाँ क्रसिङ गरी उत्पादन हुने चिनीको हकमा मात्रै यो मूल्य कायम हुने दाबी गरे पनि उद्योगीले लागू गरिसकेका छन्।

संघका महासचिव राजेश केडियाका अनुसार लागत मूल्यबाहेक गत वर्ष उत्पादन भएको चिनीमध्ये ४० हजार मेट्रिक टन चिनी बिक्री हुन सकेको छैन। चिनी बिक्री हुन नसक्दा बैंकको ऋण तिर्न सक्ने अवस्था छैन। संघले किसान, उद्योगी र उपभोक्तालाई समान हित हुने गरी कारखाना मूल्यमा उचित मुनाफा जोडेर उत्पादित चिनी सरकारले एकद्वार प्रणालीबाट खरिद गर्नुपर्ने माग पनि अघि सारिएको छ।

संघले किसानलाई सहजरूपमा भुक्तानी दिन र उद्योग सञ्चालन गर्न बैंकबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनसमेत प्रस्ताव गरेको छ।

उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उद्योगीले राज्यबाट सुविधा लिएर चिनीमा कार्टेलिङ गरेको आरोप लगाए। ‘उद्योगीले दोहोरो सुविधा लिएर सरकार र उपभोक्तालाई ठगी गरेका छन् ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रघुनाथ महतले उद्योगीले अघिसारेको नयाँ मूल्य कायम हुन नदिने बताएका छन् । उनले ‘ राज्यबाट दोहोरो सुविधा लिएर आफूखुसी मूल्य कायम गर्न पाउँदैनन् ।

यसअघि गत भदौमा सरकारले चिनीमा परिमाणत्मक बन्देज लगाउँदा चार्ड पर्वमा चिनीको मुल्य ९० रुपैयाँ सम्म पुगेको थियो । त्यस्तै सरकारले स्वदेशी उद्योगलाई जोगाउन भन्दै उद्योग चिनी आयात गर्दा लाग्ने भन्सार शुल्क १५ प्रतिशतलाई वृद्धि गरी ३० प्रतिशत पुर्‍याउनुपर्ने चिनी उद्योगीको माग सरकारले पूरा गरेको थियो।

संसद्को सार्वजनिक लेखा समितिले आर्थिक चलखेलका आधारमा सरकार र उद्योगी मिलेर चिनीको मूल्य कायम गरिएको भन्दै प्रतिवेदन तयार पारेको छ। चिनीको मूल्य निर्धारणमा ठूलो आर्थिक चलखेल भएको भन्दै समितिले लेखराज भट्टको संयोजकत्वमा अध्ययन गर्न उपसमितिले प्रतिवेदन दिएको छ। लेखा समितिले सोहीप्रतिवेदनको आधारमा छानबिन र कारबाही प्रक्रिया अघिबढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचारसमेत गरिसकेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."