Technology

सर्वसाधरणको अपनत्व हुने गरी टेलिकमको सेयर संरचना , २६ प्रतिशत सर्वसाधरणलाई

 

काठमाण्डौं– सरकारले नेपाल टेलिकमको सेयर संरचना परिवर्तन गर्ने भएको छ ।

सर्वसाधारणमा सेयरको हिस्सा बढाउने र सरकारको सेयर घटाउँदै लैजाने सरकारको योजना छ ।

सरकारसँग हाल कायम रहेको ९२ प्रतिशत सरकारको स्वामित्वबाट २६ प्रतिशत सर्वसाधारणमा लैजाने र बाँकी ६६ प्रतिशतमात्रै सरकारले राख्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको स्वामित्वमा रहेको सेयर स्वामित्वमध्ये २६ प्रतिशत बिक्री गरेर ६६ प्रतिशतमात्र कायम गर्ने तयारी भैरहेको जनाएका छन् ।

टेलिकममा हाल सरकारको ९१.८९ प्रतिशत, कर्मचारीको ४.५ प्रतिशत, सर्वसाधारणको ३.९ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ ।

“कम्पनीमा बढीभन्दा बढी जनताको स्वामित्व होस् भन्ने सरकारको चाहनाबमोजिम सेयर बिक्री गर्ने योजना बनेको हो,” मन्त्री बाँस्कोटा भन्छन्, “प्रदेशका जनता, व्यावसायिक घरानालगायतलाई स्वामित्व दिनेगरी छलफल भइरहेको छ ।”

मन्त्री बाँस्कोटाले टेलीकमको व्यापार विस्तारको लागि सेयर बेच्ने वा रणनीतिक साझेदार भित्र्याउने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले रणनीतिक साझेदार भित्र्याउँदा देशको पैशा विदेश जाने भएकोले सेयर बिक्रीमार्फत् व्यापार विस्तार गर्न लागिएको बताए ।
कम्पनीले गत आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख कारोबारबाट १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."