News

निजगढ विमानस्थल आयोजनाले तत्काल ४ अर्ब रुपैयाँ माग

काठमाण्डौं– निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन सरकार संग तत्कालै ४ अर्ब रुपैयाँ माग गरेको छ ।

आयोजनाबाट प्रभावित हुने टागियावस्तीलाई स्थानान्तरण गर्न र विमानस्थलको सिमाना निर्धारण गर्न उक्त बजेट तत्कालै विनियोजन गर्न माग गरेको हो ।

कार्यालयका प्रमुख ओम शर्माका अनुसार विमानस्थलको मुख्य चूनौती टागियावस्तीको करिब १५ सय घरधुरीलाई जितपुरसिमरा उपमहानगरकै अन्य वडा तथा कोल्हबी नगरपालिकाको अन्य वडामा स्थानान्तरण गर्नु छ । यसको लागि सरकारले बजेट विनियोजनमा तदारुकता निर्वाह गर्नु पर्ने बताएका छन् ।

विमानस्थलको डिपिआर बनाउने परामर्शदाताको छनौट गरी यथाशिघ्र साइटमा खटाउनुपर्ने पनि उनले बताए।

उनका अनुसार डिपिआर बनाउन छनौट भएको ६ वटा कम्पनीहरुको अध्ययन विश्लेषण तथा कागजात अध्ययन एवं मूल्याकन गरी चाँडै डिपिआर बनाउन निजगढ विमानस्थालको क्षेत्रमा खटाउनु पर्ने देखिन्छ।

प्रारम्भिक चरणको अध्ययन अनुसार करिब ८ हजार हेक्टरमा निर्माण हुने विमानस्थलको लागि शुरुको चरणमा एक लाख भन्दा कमै रुख काटेर न्यून्तम क्षतिमा विमानस्थल निर्माण गर्न सकिने समेत उनल जानकारी दिए।

३ सय मिटर चौडाईको रनवेमा ६० मिटर चौडा मात्रै पिचको भागबाट पहिलो रनवे र टर्मिनल बनाई विमानस्थल शुरुवात गर्न सकिने भएकाले विमानस्थल सञ्चालन तथा विस्तारको काम विस्तारै हुँदै गएपनि फरक नपर्ने प्रमुख शर्माको भनाई छ ।

निजगढ विमानस्थलमा ३ वटा रनवे बनाउने नीति रहेकोमा शुरुमा २४ लाख रुख काटने भ्रम जनता माझ छरिएको भन्दै उनले आपत्ति जनाए ।

नेपालको लागि अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा उपयुक्त ठाउँ हाल निर्माण हुन लागेको निजगढ भएकोले यसको विकल्प नभएको भन्दै शर्माले सरकार तथा राजनीतिक दल एवं प्रदेश २ सरकारलाई यस विषयमा गम्भीर बन्न पनि उनले सुझाव दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."