skip this

Feature

सयौं महिलालाई उद्यमशिल बनाउने मिलु थापाको संर्घषशिल कथा

कमला भुसाल

‘विवाह भनेको एउटा बन्धन हो’ यो भनाई प्राय मानिसहरुको सोचाइमा हुने गर्दछ । तर,कसैका लागि भने यो बन्धन नभई सफलता हासिल गर्ने आधार मानिएको छ । कतिपय नेपाली समाजमा विवाह भईसकेको महिलाले घर व्यवहार धानेर बस्नुपर्ने मान्यता अझै पनि उत्तिकै देखिन्छ । त्यस्तै खालका विभिन्न समाजहरु छन् जहाँ छोरीले पनि जागिर खान हुन्न, र केही काम गर्न हुन्न भन्ने कुराहरु उठ्ने गर्दछन ।

विगतका वर्षमा छोरीले राम्रो संग शिक्षा पनि लिन पाउदैनथे। त्यही समाजमा विभिन्न खालका बाधा, निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका अवशेषहरू अझै किनारा नलागिसकेको हुँदा नेपाली समाजका महिलाहरूले अझै पनि अनेक उत्पीडन झेल्दै पारिवारिक समस्याहरूमा आफूलाई अल्झाउन बाध्य छन् । तर, केही महिला भने सामाजिक÷पारिवारिक भारीहरूले थिचिएर पनि सफलताको शिखर चुम्न सक्षम ठहरिएका छन् । त्यस्ता महिलाहरू उत्पीडन, अत्याचार झेलिरहेका समाजका तमाम महिलाहरूका निम्ती प्रेरणाका स्रोत बन्दै आएका छन् । केही वर्षदेखि समाजका यस्ता बाधाहरुलाई चिरेर सामाजिक र पारिवारिक उल्झनहरू पन्छाउँदै आफ्नो क्षेत्रमा स्थापित हुन् सफल भएका महिलाहरुको संख्या भने बढ्दै गएको छ ।

सानै उमेरमा विवाह गरे पनि आफ्नो इच्छा शक्तिलाई बढाएर काम र कर्म प्रति लागि पनि आफूसंगै सयौं महिलालाई सफल बनाउने त्यस्ता महिलाहरु पनि यहाँ भेटिन्छन जसलाई नेपाली समाजले गर्व गर्नुपर्ने हुन्छ । संघर्षका अनेक खुट्किलाहरू पार गर्दै आफ्नो क्षेत्रमा स्थापित गर्ने ती सफल महिला हुन् मिलू थापा ।

काठमाडौंको लाजिम्पाटमा वि.सं २०२१ सालमा उनको जन्म भएको थियो। मिलूका एक दाजु अनि एक भाई छन् । उनी विजनेश गर्ने परिवारमा हुर्किएकी थिइन। उनको परिवारमा छोरी मान्छेले काम गर्न नहुने भन्ने मान्यता थियो। सरकारी जागिर खानु हुन्न भन्ने किसिमको मानसिकता उनको परिवारमा थियो। त्यसो त उनी परिवारकी एक्ली छोरी उनलाई बिहे अगाडी केही काम गर्नु परेको थिएन। उनलाई न त जागिर को बारेमा अनुभव थियो न त अन्य कामको ।

उनले काठमाडौंको पदम कन्या कलेजमा डिप्लोमा शिक्षा हासिल गरेकी हुन्। महिला सृजनशील केन्द्रकी अध्यक्ष भई महिलाहरुलाई उद्यमी तथा उद्यमशील बनाउँदै आएकी छन् । विगत १९ वर्षदेखि श्रृजनशील महिला उद्यमी केन्द्रमा आवद्ध रहेर महिलालाई उद्यमशील बनाउने काम गर्दै आएकी छन् । हरेक ठाउँका हरेक महिलालाई सक्षम र अब्बल बनाउने उनको यो सपनालाई पुरा गर्दै जीवको अन्तसम्म उनले यस कामलाई निरन्तरता दिने उनी बताउँछिन ।

मिलूले १९ वर्षको उमेरमा विवाह गरेकी थिइन् । विवाह पश्चात उनले गृहणीले गर्नुपर्ने काम सबै गर्नु पथ्र्यो । यस सँगै उनले आफ्ना दुई छोरालाई जन्म दिइन् । अनि उनको मनमा सधै बच्चा हेरेर मात्र बस्न नहुने र समाज परिवर्तनको लागि पनि आफुले केही गर्नुपर्ने कुराहरु उनको मनमा उत्पन्न हुन थाले । उमेर छदै केही गर्नुपर्छ भन्ने उनको मानसिकता बन्दै गयो । त्यसपछि उनले महिला श्रृजनशील केन्द्रको स्थापना गरिन् ।

संस्था स्थापना हुनु अगाडी मिलू गृहणी थिइन् । उनी भन्छिन,‘ आफूजस्तै अन्य गृहणी साथीहरुको जमघट हुँदा उनले हामी पनि केहि गरौँ न भन्ने कुरा निकालिन त्यसपछि सबैको मन मिलेपछि संस्था को बारेमा सोचेर संस्था स्थापना गरे ।’
उक्त संस्था २०५९ सालमा स्थापना भएको हो । संस्था स्थापना गर्ने बेलामा एनजीओ दर्ता गराउँदा ९ जना सदस्य चाहिने भएर स्थापना कालदेखि नै ९ जना सदस्य थिए ।

संस्था स्थापना गर्ने बेला थुप्रै अप्ठ्यारा कुराहरु झेल्नुपरेको उनी बताउँछिन । ‘स्थापना गरेपछि काम गर्न भने पारिवारिक वातारवरण राम्रोसंग मिल्यो । हाम्रो नेपाली समाजमा महिलाले गृहणी बाहेक अन्य काम गर्नुहुन्न भन्ने मान्यता भएपनि मेरो श्रीमान र परिवारले भने यस कुरामा ठूलो सहयोग गर्नुभयो । महिलामा इच्छा शक्ति भएर पनि सपोर्ट पाउन नसक्ने त्यस्तो बेलामा पनि मलाई रोकिनु परेन ।’

एउटा सफल उद्यमी महिला जसले आफ्नो घर व्यवहार र कार्यालयलाई सम्हाल्दै आफुजस्तै कयौं महिलालाई उद्यमशील बनाएकी छन् । माहिलाले दोहोरो भूमिका खेलेको हुन्छ । महिलाले घरमा काम गरेर बाहिर पनि काममा निस्केका हुन्छन महिलाको सपोर्ट श्रीमान, घर, समाज र राष्ट्रलाई नै पुगेको हुन्छ । राष्ट्रले पनि यसरी महिला उत्साहित भएर गरेका कामलाई केही सहुलियत दियो भने राम्रो हुने उनको विश्वाश छ ।

उनकोे संस्थाबाट महिलाका लागि विभिन्न खालका सिपमुलक तालिमहरु उपलब्ध छन् । त्यस संस्थाबाट उनले सिलाई बुनाई, पोतेका गरगहना बनाउने तालिम दिंदै आएकी छन् । त्यस संस्थामा तालिम प्राप्त गरिसकेका महिलाहरुले अहिले अप्रतक्ष्य रुपमा घरमै बसेर पनि रोजगार पाएका छन् । श्रृजनशीलले १०० भन्दा बढी उद्यमी भएर अरुलाई रोजगार दिएका छन् र ५०० भन्दा बढी महिलालाई उद्यमशील बनाएको छ । अहिले संस्थामा १०० जना भन्दा बढी सदस्य छन् ।

व्यापारी खानदानमा हुर्किएकी मिलूलाई संस्था व्यवस्थापन गर्ने जिम्मा थियो । उनलाई संस्था स्थापना गर्ने बेला केहि काम आउदैनथ्यो । तर, अरु काम केही नजाने पनि मिलूले राम्रोसँग व्यवस्थापन गरेकी छन् । उनले सिलाइ बुनाइको लागि मास्टर खोज्ने पोतेका गरगहना बनाउन सिकाउने मान्छे खोज्ने गर्थिन ।

संस्था स्थापना गर्ने बेलामा उनलाई विभिन्न खालका अप्ठ्याराहरु आएको उनी बताउँछिन । संस्थाको लागि सबै जनाले घरबाट थोरै थोरै पैसा ल्याएर पुँजी २५–३० हजार रुपैयाँ पुँजी जुटाएका थिए । एनजीओ दर्ता गर्ने बेला उनी निकै उत्साहित थिइन् । अरुले भनेको सुने अनुसार उनले पनि एनजीओ दर्ता भएपछि विदेशी संस्थाबाट सहयोग हुन्छ होला आर्थिक रुपमा हुने अप्ठ्यारोहरु केही हुन्न होला तर त्यो त्यतिकै सहज नभएको उनले बताइन ।

अहिले उनको संस्थामा वार्षिक   लाखाैको काराेबार हुने गर्छ । यस संस्थाबाट प्रत्यक्ष रुपमा १५–२० जनालाई रोजगार र अप्रत्यक्ष रुपमा १०० भन्दा बढी महिलालाई रोजगार दिएको छ । संस्थाको लागि सरकारी निकायमा काम गर्न गाह्रो हुने गर्छ । उनी भन्छिन ‘कहिले कच्चा पदार्थ जुटाउन, उत्पादन गर्न गाह्रो हुन्छ । कहिले त कच्चा पदार्थ पाए पनि मूल्य वृद्धि भएर आउँछ । कुनै वस्तुको मूल्य निर्धारण आफै गर्नुपर्ने हुन्छ र त्यो मूल्य निर्धारण गर्न पनि गाह्रो हुन्छ । सरकारबाट त्यसको लागि केहि सुविधा छैन’।

महिला श्रृजनशील केन्द्रबाट विभिन्न खालमा महिलाले विभिन्न किसिमका शिपुलक तालिमहरु गर्दै आएका छन् । श्रृजनशील केन्द्रले महिलाहरुलाई सेल्सम्यान र मार्केटिङ तालिम पनि दिने गरेको छ । स्थापना कालदेखि नै तालिम लिएका केही महिलाहरु अहिले उद्यमी भएका छन् भने, केही महिलाले काम सिकेर विदेश पलायन भएका छन् ।

संस्थामा तालिम लिएर सक्षम भएका महिलाहरुले आफ्नो सिप अनुसारका वस्तु उत्पादन गर्न थाले । संस्थाको जिम्मेवारी थप गराउँदै मिलूले अन्य महिलाले उत्पादन गरेका ती सामानलाई बजारीकरण प्रदर्शनीको आयोजना गर्न सुरु गरे ।
‘२००२ सालबाट उद्यमशील मेलाको सुरुवात गरेका थिए । त्यस समयमा तालिम लिएका महिला र अरु लाई लिएर प्रदर्शनीको आयोजना गरे । मेला सुरु गर्ने बेलामा उद्यमशील महिलाहरु एकदमै न्यून रहेको अवस्था थियो । त्यसबेला महिलाहरु घरबाट बाहिर निस्कन नसक्ने अवस्था थियो । मेला सुरुवात गर्दाको पहिलो वर्ष मेलामा भाग लिन आउने महिलाहरु थोरै संख्यामा थिए।’

उद्यमशील महिलाहरुको आयोजना गरेको प्रदर्शनीको मातहतबाटै धेरै महिलाहरु उद्यमशील र उद्यमी भएको मिलू बताउँछिन् । अहिले १८ वर्षमा आइपुग्दा उद्यमशील र उद्यमी महिलाको संख्या बढेको बताईन् ।‘अहिले महिलाको सोच परिवर्तन भएको छ । आफुमा निर्भर हुनुपर्छ । परनिर्भर हुँदाका धेरै बेफाइदाहरु महिलाले बुझ्न थाले र धेरै नपढेकोले पनि विभिन्न सिपमुलक तालिम लिएर काम गर्न थाले त्यसैले उद्यमशील महिलाको संख्या पनि बढ्दै छ ।’

महिलाहरुको आत्मविश्वास बढाएर, क्षमता विकास अभिवृद्धि गर्दै उनीहरुलाई श्रृजनशील बनाउँदै उद्यमशीलतामा अगाडी बढाउने उद्देश्यले यस संस्थाले यस वर्ष पनि मेलाको आयोजना गरेको थियो । साना साना वस्तुहरुको ठुलो महत्व हुन्छ साना उद्यमी र साना उद्योगले पनि देशको अर्थतन्त्रलाई बढाउँ सहयोग पुग्छ । नेपालमा उत्पादित साना चिजहरु नै अन्य मुलुकमा बढी जाने गर्छन । नेपाली उत्पादनलाई प्रवद्र्धन गराउनको लागि पनि यस्ता क्षेत्रहरुमा सरकारको ध्यानाकर्षण हुनु आवश्यक रहेको मिलू बताउँछिन् ।

यस संस्थाको सहयोगका लागि कहिँ कतैबाट फण्ड नजुटाएको मिलू बताउँछिन् । ठुलठुला कर्पोरेट हाउसले गरेका कार्यक्रमलाई भन्दा महिलाले आयोजना गरेका मेला तथा प्रदर्शनीमा केही मात्रामा भएपनि छुट अलिकति छुट हुनुपर्ने हो तर यसमा पनि ध्यानाकर्षण गराउनुपर्ने उनको भनाई छ ।कर्पोरेट हाउस र महिलाले आयोजना गरेका कार्यक्रमलाई बराबर भाडा तिर्नुपर्छ यसले अलिकति गाह्रो परेको छ । यसमा अलिकति छुट पायो भने हरेक पटक मेला आयोजना गर्दा विपन्न महिलालाई निशुल्क दिइने १० वटा स्टल थप गरी २० वटा निशुल्क दिन सकिन्थ्यो भन्ने उनको भनाइ छ ।

महिला श्रृजन्शीलमा उत्पादन हुने तिन तहका कपडा र पोतेका गहना अन्तराष्ट्रिय बजारमा बढी जाने गरेको छ । लोकल बजारमा भाटभटेनी, न्युरोड, असन लगायत देशका विभिन्न सहरहरुमा जाने गर्दछन । महिला श्रृजनशील उद्यमी केन्द्रलाई अझै अगाडी बढाउन मन्त्रालयमा पहल गरेका छन् । मन्त्रालयको ध्यानाकर्षण, सहकार्य र सहयोग भएमा अब महिलाहरुलाई ड्राइभिङ्ग, इलेक्ट्रिक तालिम उपलब्ध गराउने मिलूको सोच छ । तालिम दिँदा आर्थिक स्थिति कमजोर, पिछडीएका र केहि गर्न खोजेका महिलाहरु, जनजाति र दलित महिलालाई थोरै शुल्क तालिम दिने गर्छन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."