skip this

Feature

हस्तकलामा रमाउँदै कमला बराल

कमला भुसाल

हस्तकला जो कोहीले पनि बुझ्ने शब्द हो । हस्तकला भन्ने वित्तिकै  सबैलाई थाहा छ  हस्तकलाका बस्तु हातले निर्माण गर्ने गरिन्छ । हस्तकलाका बस्तुहरु हेर्दा उत्तिकै आर्कषक हुन्छन । त्यसलाई निर्माण गर्न पनि त्यतिनै मेहेनत गर्नुपर्छ । समय पनि धेरै लाग्दछ । अहिले नेपाली हस्तकलामा आत्मनिर्भर हुने महिलाहरुको संख्या बढ्दो छ । सामाजिक सञ्जाल, युट्युव र इन्टरनेटका अन्य विभिन्न माध्ययमबाट सिकेर आफुले पनि हस्ताकला निर्माण गरी व्यवसाय गर्ने महिलाको संख्या बाक्लो हुँदै गएको छ ।

कतिपय महिलाले समय दिएर हस्तकला सिकेपछि आफ्नो व्यवसायमा रमाएका छन् भने केही महिलाले घरमै इन्टरनेटको माध्ययमबाट सिकेर अरुलाई सिकाउनुका साथै आफु व्यवसायीक रुपमा पनि रमाएका छन् । यिनै महिलाको संख्याभित्र पर्ने नाम हो कमला बराल । जसले आफ्नो घर व्यवहार, व्यवसाय र अन्य कामलाई सम्हाल्दै हस्तकलाका सामाग्रि निर्माण गर्न सफल भएकि छन् ।

मोरङको विराटनगरमा ४४ बर्ष अघि जन्मिएकी बरालले सानै उमेरमा विवाह गरेकी थिइन् । चौंथो सन्तानका रुपमा जन्मिएकी कमला परिवारकी कान्छी छोरी हुन । प्लस टु पढ्दै गर्दा बिहे गरेकी कमलाले पछि औपचारीक शिक्षालाई निरन्तरता दिन भने सकिनन् । शिक्षलाई निरन्तरता दिन नसकेपनि उनी हस्तकलामा  पोख्त छिन् ।

बरालले काठमाडौंको कपन स्थित एकता बस्तिलाई कर्मथलो बनाएकी छन् । अहिले उनको परिवारमा उनका श्रीमान, दुई छोरा र उनका सासु ससुरा छन् । सानै देखी कुरुस खेलाउने र टोपी, मोजा, रुमाल बुन्न रहर गर्ने लक्ष्मीले अहिले विभिन्न चिजहरु हातले बुन्ने गर्छिन ।

विवाहित महिला त्यसमा पनि परिवारकि जेठी बुहारी कामको भार एकदमै बढी पर्दछ । त्यसै पनि कतिपय नेपाली समाजमा अझै पनि विवाहित महिलाले घर व्यवहार नै सम्हाल्नुपर्छ भन्ने मान्यता रहेको छ । यस्ता कुराहरुलाई यथावत राखी घर व्यवहार र व्यवसायलाई सँगै लिएर आफ्नो चाहना पुरा गर्नु नै ठूलो चुनौती हो । कमलाको यस्तो चुनौती उद्यमशील महिलाका लागि प्रेरणा मान्नुपदर्छ । जसले आफ्ना अप्ठ्यारा कुरा र असहज बाटोलाई पन्छ्याउँदै आफ्नै तरिकाका हस्तकला निर्माण गर्न थालिन् ।

केही वर्ष किराना पसल, केही वर्ष स्टेशनरी र केही वर्ष गिफ्ट आइटमको व्यापार गरेकी कमलाले अहिले यी सबै व्यवसायलाई हटाएर हस्तकला सामाग्री व्यवसायमा आत्मनिर्भर भएकी छन् । परिवारका सबै सदस्यले हस्तकलाको महत्व बुझेको र सरकारले पनि हस्तकलालाई प्रोत्साहन गरेको भन्दै उनले अब यही व्यवसायलाई निरन्तरता दिने बताउँछिन् । उनले घरेलु उद्योग महासंघमा आफ्नो उद्योग ‘मोक्ष्य नेपाल’ दर्ता गरी व्यवसाय सुरु गरेकी हुन ।

उनले डेढ वर्ष अघि चाबहिलमा कोठा भाडामा लिएर डेढ लाख लगानी गरी व्यवसाय सुरु गरेकी थिइन् । व्यवसाय सुरु गर्दा उनले स्वेटर, व्याग, पर्स र रुमाल बनाउने गर्थिन । त्यसबेला उनले एक जना सिकाउने महिला पनि राखेकि थिइन् । स्वेटरको व्यापार सिजनमा मात्रै हुने र त्यसलाई बनाउनको लागि पनि समय धेरै लाग्ने भएको हुँदा स्वेटर व्यापार त्यती फस्टाउन नसकेको उनि बताउँछिन् ।

अहिले उनले बेमौशमी र मौशमी वस्तु दुवै वस्तुहरु उत्पादन गर्ने गरेकी छन् । उनको स्वरुममा पुग्यो भने अहिले महिलाले पहिरने विभिन्न खालका झुम्का, चुरा, पर्यटन प्रवद्र्धन गराउन भिजिट नेपाल २०२० का लागि बनाइएका झोला तथा पर्स, बच्चाका लागि टोपी, मोजा र वाइन बोटल बभर इत्यादी सामानहरु पाइने गदर्छन् ।

आफु अब्बल बन्नका लागि केही गर्न सक्ने इच्छा शक्ति भएका महिलाका लागि प्रेरणा बनेकी कमला भन्छिन, ‘महिला चुला चौका र घर व्यवहारमा मात्रै सिमित रहेर दिन नबिताउँ । हरेक दिन नयाँ कुरा सोचौं, हरेक दिन नयाँ काम गरौं । अरुसँग निर्भर हुनुभन्दा सानो काम नै किन नहोस, सानो पेशा नै किन नहोस आफुले गरेको परिश्रमको फल पाउँदा एकदमै खुशी मिल्छ । आफ्नो खुट्टामा आँफै उभिन सक्नु जति राम्रो कुरा अरु केही हुँदैन ।’

व्यवसाय गर्दा व्यवसायीक चुनौतिहरु प्नि धेरै खेप्नुपर्ने हुन्छ । हस्तकला व्यसाय सुरु गर्दा केही घाटामा जाने, काम गर्ने मान्छेले बिचमा काम छोडिदिने जस्ता समस्या कमलालाई पनि परेको थियो । हस्तकला सामाग्री निर्माण गर्न धेरै समय लाग्ने र ज्याला पनि थोरै भएको हुनाले कामदारले पनि बिचमै काम छोड्ने गरेको बताउँदै उनि भन्छिन् ‘एउटा स्वेटर बनाएको नौ सय देखि हजार रुपैयाँ ज्याला तिर्नुपर्छ । राम्रो डिजाइनको स्वेटर बनाउन कम्तिमा पनि १५ दिन लाग्छ । हुन पनि हो दिनको सय रुपैयाँ पनि कमाई हुन्न भने किन काम गर्ने’ । उनले अहिले छोराको ठूलो सहयोग पाए सँगै एक्लैले काम सम्हालेकी छन् ।

नेपालमा अझै हस्तकलाको व्यापार बढ्न नसकेको उनी बताउँछिन । हरेक नेपाली महिला उद्यमीहरुको एउटै गुनासो रहेको पाइएको छ । ‘नेपालीहरुले नेपालमा उत्पादित बस्तुहरु मन नपराइदिने हुनाले नेपालमा निर्मित सामाग्रीले मूल्य पाउन सकेका छैनन् । झट्ट हेर्दा चाइनिज सामान राम्रो देखिने, मूल्य पनि सस्तो पर्ने हुँदा नेपाली बस्तुको प्रयोग एकदमै न्यून छ ।’

व्यवसायीक रुपमा अहिले उनका सामाग्रिले राम्रो बजार पाएका छन् । अहिले उनले घरमै बसेर सामान निर्माण गरी बजारीकरण गरेकी छन् । उनले हरेक सिजनमा नयाँ योजनाहरु बनाई काम गर्ने गर्छिन । तिज नजिकिँदै गर्दा उनका झुम्काले राम्रो बजार पाएका छन् ।

झुम्का बनाउनका लागि उनले ५० हजार लगानी गरेकी छन् । झुम्का तयार गर्नका लागि धागो, स्टोन, थरी–थरीका मेटल धागो छोप्न चाहिने विभिन्न खालका क्याप, कानमा अड्काउने हुक, पेज र पिन आवश्यक सामाग्रि हुन । सिजन अनुसारका सामानमा जति बढी डिजाइन दियो त्यती नै सामान धेरै सामान चाहिने उनी बताउँछिन् । त्यस्तै विभिन्न सामाग्रि जुटाएर चुरा बनाउन पनि उनले ४० देखि ५० हजार लगानी गरेको बताइन ।

यसरी विभिन्न डिजाइनका झुम्का तथा चुरा बनाउँदा फिनिसिङ गर्न भने निकै गाह्रो हुने उनको भनाई छ । गत वर्ष झुम्का र चुराबाटै साढे तीन लाख भन्दा बढी आम्दानी गरेको सुनाइन ।

पहिला–पहिला घर बाट बहिर निस्कन नसक्ने महिलाहरु अहिले विभिन्न सभामा पुगेका हुन्छन । महिलाले रोजगारी गर्न हुँदैन भन्ने परम्परा पनि हट्दै गएको छ । हरेक घर परिवारमा कोही न कोही शिक्षित भइसकेको अवस्था भएर पनि अहिले महिला रोजगारीको लागि घर बाहिर निस्कनेको संख्या बढेको छ ।

कमलालाई पनि उनको घर परिवारको ठूलो सहयोग र साथले यो स्थानमा पुग्न सफल भएको उनी बताउँछिन् । पहिले महिलालाई गर्ने व्यवहार र अहिले गरिने व्यवहारमा धेरै परिवर्तन आएको छ । इच्छा शक्ति हुने महिलाले केही गर्न सकिने समय र वातावरण पनि बनेको छ । त्यसैले महिलाले नयाँ सोचका साथै प्रगतिका पाइला सँधै अगाडी बढाउन जरुरी छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."