काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ ।
बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ । ‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन । कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो ।
स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए । नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए । दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधबार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए । त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो ।
ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए । उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS