काठमाडौँ — कानुनले वञ्चित गरेका वित्तीय क्रियाकलापमा नलाग्न अर्थमन्त्री युवराज खतिवडाले चार्टर्ड एकाउन्टेन्टहरुलाई निर्देशन दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आईक्यान० का नवनिर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रममा बिहीबार अर्थमन्त्री खतिवडाले चार्टर्ड एकाउन्टेन्टहरुलाई आचारसंहिताभित्र रहेर काम गर्न आग्रह गरे ।
‘कानुनविपरीत कुनै पनि प्रकारका प्रतिवेदन तयार गर्ने, मुलुकको कर प्रणालीलाई दूषित गर्ने, अवैध ढंगले कमाएको मुद्रालाई निर्मलीकरण गर्ने वा शुद्धीकरणमा लाग्ने गर्नुभएन,’ उनले भने, ‘गतल प्रतिवेदन बनाउने, पुँजी पलायन गर्नेलगायत काममा सहभागी हुन भएन ।’ सूचना प्रविधिको बढ्दो प्रयोगले जोखिम पनि ल्याएको भन्दै सम्भावित जोखिम न्यूनीकरणका लागि चार्टर्ड एकाउन्टेन्टहरुको क्षमता अभिवृद्धिमा लाग्न पनि उनले सुझाए । ‘सूचना प्रविधिमा आधारित भएर लेखा राख्ने सबैमा जोखिम छ । यसकारण जनशक्तिको क्षमता बढाउनुपर्यो,’ उनले भने, ‘लेखा प्रणालीको व्यावसायिक आधार बढ्दै छ । अनौपचारिक क्षेत्र औपचारिकतामा आउँदै छ । अब लेखा प्रणालीलाई व्यावसायिक, मर्यादित र अन्तर्राष्ट्रिय मापदण्डको बनाउन तपाईंहरु लाग्नुपर्यो ।’
सार्वजनिक पदमा बसेर स्वार्थ बाझिने गरी काम नगर्न पनि उनले निर्देशन दिए । ‘कुनै विषयमा स्वार्थ बाझिने अवस्था आए म निर्णय प्रक्रियामा सामेल हुँदिनँ भन्न सक्नुपर्यो,’ उनले भने, ‘पदीय दुरुपयोग गरी स्वार्थ बाझिने गरी काम गर्न भएन ।’ नियमनकारी निकायमा बसेर अनौतिक काम गर्दा सबै नियमनकारी निकायको विश्वासनीयता, जवाफदेहिता, इमानदारी र औचित्यमाथि प्रश्न उठ्ने भएकाले त्यसो नगर्न उनले आग्रह गरे ।
मुलुकको लेखा प्रणालीलाई स्वच्छ र मार्यादित बनाउन अर्थमन्त्री खतिवडाले आईक्यानलाई आग्रह गरे । यसका लागि आईक्यानको संगठन संचरना परिमार्जन गर्नुपर्ने र त्यसका लागि आवश्यक सुझाव दिन उनले निर्देशन दिए । ‘लेखाका सर्वमान्य सिद्धान्तमा रहेर निष्पक्ष रूपमा काम गर्न सक्ने व्यावसायिक टिम बनाउनुस्,’ उनले भने, ‘जहाँ दण्डहीनता नभई राम्रो काम गर्न सक्नेलाई प्रोत्साहन गर्ने वातावरण होस् ।’ लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने काममा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ लाग्न पनि उनले आग्रह गरे । चार्टर्ड एकाउन्टेन्टहरुको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने पनि उनले बताए ।
FACEBOOK COMMENTS