काठमाडौं – अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।
यसअघि कोषले यस्तो वृद्धि ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । सरकारले भने यसै अवधिमा ८ प्रतिशतको वृद्धि प्राप्त गर्ने लक्ष्य लिएको छ ।
हालै नेपाल आएको मुद्राकोषको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल तथा अर्थमन्त्री डा.युवराज खतिवडासँगको छलफल र केन्द्रीय बैंकमा उपलब्ध बृहत् आर्थिक परिसूचकको अध्ययनपश्चात् संशोधित अनुमान सार्वजनिक गरेको हो ।
मुद्राकोषका वरिष्ठ अर्थशास्त्री गिर्ट अलमेकिन्डर्सले नेपाली अर्थतन्त्रले उच्च दरको आर्थिक वृद्धि थेग्न नसक्ने भन्दै सरकारले लिएको महत्वाकांक्षी लक्ष्य सच्याउन सुझाएका हुन् ।
गिर्ट नेतृत्वको अध्ययन समूहले प्रक्षेपण संशोधन गर्नुअघि निजीक्षेत्रका प्रतिनिधि तथा सरकारी अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।
मुद्राकोषले सरकार तथा केन्द्रीय बैंक उच्च आर्थिक वृद्धिका लागि केन्द्रित हुँदा ऋणको माग बढेको, आयात प्रोत्साहित भएर शोधनान्तर तथा चालूखाता घाटा फराकिलो भएको उल्लेख गरेको छ ।
अध्ययनले मुख्यगरी नेपालको बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जाको अनुपात उच्च हुँदा वित्तीय स्थायित्व जोखीममा रहेको औंल्याएको छ ।
मुद्राकोषले वित्तीय संघीयताको कार्यान्वयन तीव्र पारिएकाले पनि यहाँ तीव्र आर्थिक वृद्धि हुने तर त्यो दिगो नहुन सक्ने भन्दै सरकारलाई दिगो विकास गर्न अहिलेको वृद्धिदरलाई केही घटाउन सुझाव दिएको छ ।
अध्ययन समूहका संयोजक गिर्टले भने, ‘विस्तारकारी नीतिमार्फत भएको विकास दिगो हुँदैन, त्यसैले वृद्धिदर अहिले केही सुस्त भए पनि दिगो प्रतिफल दिने खालको हुनुपर्छ भनेका हौं ।’
FACEBOOK COMMENTS