काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले ५५ बर्ष पुरानो ऐनमा परिमार्जन गरेर निर्यात व्यापारलाई सहज बनाउने बताएका छन् । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको वार्षिक साधारण सभा माझ प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा उनले सो कुरा बताएका हुन । सचिव घिमिरेले नेपालबाट अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुने बस्तुको प्रचार तथा बजारिकरणका लागि सरकारले सक्दो सहयोग गर्ने पनि बताए । २०२२ सालको ५५ बर्ष पुरानो ऐनमा बसेर काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै यथासिघ्र उक्त ऐनलाई परिमार्जन गरि समायानुकुल बनाउन आफुहरु लागि परेको सचिव घिमिरेले उल्लेख गरे । ऐन शंसोधनका लागि निर्यात व्यापारलाई सहज तुल्याउने गरि मन्त्रालयले तयारी थालेको सचिव घिमिरेले भनाई राखे । उनले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरिएको बारे जानकारी दिँदै अब आफैले भेडा पालन गरेर फेल्टलाई ‘होली प्रटक्ट’ को रुपमा निर्यात गर्नुपर्ने बताए ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भावी दिनमा आफैले भेडा पालन गरेर उक्त ऊनबाट फेल्टका प्रटक्टहरु उत्पादन गरि निर्यात गर्नुपर्नेमा जोड दिए । ‘नेपालमै भेडा पालनको उच्च सम्भावना भएकाले हिमाली जिल्लाहरुमा सो कार्यलाई अघि बढाउनका लागि चेम्बरले सहयोग गर्नेछ,यदि हामीले नेपालमै उत्पादित भेडाको ऊनबाट फेल्टका बस्तुहरु बनाएर निर्यात गर्न सकेमा अझै बढी भ्यालु एड हुनेछ’ वरिष्ठ उपाध्यक्ष मल्लले भने । साथै, निर्यात सहजीकरणका लागि फेल्टका उत्पादनहरुमा एचएस कोड दिलाउन समेत चेम्बरले पहल गर्ने उनले बताए ।
नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्काले नेपाली फेल्ट प्रडक्टले हार्मोनाईज सिस्टम (एचएस) कोड नपाउँदा निर्यातमा समस्या भएको गुनासो पोखे । ‘अहिले पनि हामीले बार्षिक ३ अर्ब रुपैयाँभन्दा बढीको फेल्ट प्रडक्ट निर्यात गरिरहेका छौं,‘तर एचएस कोड नपाउँदा सम्बन्धित सरकारी निकायसँग हामीले निर्यात गरेको तथ्याङ्क नै छैन’ उनले भने । अध्यक्ष खडकाले सरकारको सहयोग बेगर पनि निर्यात गर्दै आएको जानकारी दिँदै आगामी दिनमा सरकारले सहयोग गरेमा बार्षिक १५ अर्ब रुपैयाँ बराबरको फेल्टका उत्पादनहरु निर्यात गर्न सकिने बताए । उनले फेल्टका नयाँ नयाँ डिजाईनका बस्तुहरु बनाएर हाल विश्वका २५ देशमा नेपालबाट निर्यात हुँदै आएकोमा आगामी दिनमा यसलाई बढाएर ७० भन्दा बढी देशमा निर्यात गर्न सकिने जनाए ।
त्यसैगरि, संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठले नेपालमा फेल्टको सम्भावना उच्च भएकाले यसको निर्यात बढाउन नीतिगत सुधारको आवश्यकता रहेको औंल्याउदै सरकारबाट आवश्यक सहयोगको अपेक्षा राखेको बताए । कोभिड कहर माझ पनि फेल्टको निर्यात २१ प्रतिशतले बढेको जानकारी दिँदै यस क्षेत्रमा रहेका समस्या समाधानमा सरकारले तदरुकता देखाउने हो भने यसबाट मुलुकलाई फाईदा पुग्ने उल्लेख गरे । ‘विश्व बजारमा अन्य बस्तुको निर्यात घटिरहेको अवस्थामा फेल्टको बढिरहेको छ,फेल्टको निर्यात बढाउन सके व्यवसायीलाई मात्र नभई राज्यलाई समेत ठूलो फाइदा हुँनेछ तसर्थ यस विषयमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ’ उनले भने ।
कार्यक्रममा प्रदेश सभाका सांसद एवं नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादूर गुरुङले निर्यात बापत पाउने नगद अनुदान एक हप्ताभित्रै अनलाईन प्रणालीबाट व्यवसायीको खातामा मौज्दात गरिनुपर्ने बताए । यस बिषयमा राष्ट्र बैंक लगायतका निकायमा पटक पटक छलफल भएता पनि सुनुवाई नभएको भन्दै कटाक्ष गरे ।
FACEBOOK COMMENTS