काठमाडौं,माघ ६ – सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर, सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले सो समयमा पुरै भुक्तानी नपाउने अवस्था आएको हो ।
भुक्तानीको माग गर्दै कृषक आन्दोलित भएका थिए तर सरकारले सहमति गरेपछि उनीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका थिए । ७ माघभित्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने भनेर सरकार र उखु किसानबीच पाँच बुँदे सहमति भएको थियो ।
सरकार र उखु किसानबीच भएको सहमति सकिन दुई दिन बाँकी हुँदासम्म चिनी उद्योगले उखु किसानलाई ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिनुपर्नेछ । चिनी उद्योगीहरूले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सम्झौता भएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई चिनी उद्योगले किसानको बाँकी बक्यौता रकम भुक्तानीको रिपोर्ट गर्न जिम्मा दिएको छ । आइतबारसम्ममा विभागले संकलन गरेको तथ्यांकअनुसार १४ वटा चिनी उद्योगमध्ये सातवटा उद्योगले मात्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरेका छन् । बाँकी सातवटा उद्योगले सरकार र किसानसँग भएको सहमतिपछि केही बक्यौता रकम भुक्तानी गरे पनि बाँकी बक्यौताको आधा चौथाइ भुक्तानी गरेका छैनन् ।
भुक्तानी गर्न कति बाँकी ?
चिनी मिलको नाम भुक्तानी हुनुपर्ने भुक्तानी भएको रकम
१. महालक्ष्मी सुगर मिल, सर्लाही २१,४०,५८,२२६ ११,५०,०००००
२. अन्नपुर्ण सुगर मिल, सर्लाही ४२,००००००० ३,९०,०००००
३. श्रीराम सुगर मिल, रौतहट २६,७७,७८,६२७ भुक्तानी नगरेको
४. महाकाली सुगर मिल, कञ्चनपुर ६२१०७ भुक्तानी नगरेको
५. बाग्मती खाडसरी सुगर मिल, नवलपरासी ८,४१,४१, ५८६ भुक्तानी नगरेको
६. रिलायन्स सुगर मिल श्रीपुर, बारा ६१,४९,७१४ भुक्तानी नगरेको
७. बाबा बैजुनाथ सुगर मिल, रौतहट
बाँकी बक्यौता भुक्तानी गर्ने उद्योग
यसैगरी, बाँकी बक्यौता रकम भुक्तानी गर्नेमा इन्दुशंकर सुगर मिल, एभरेस्ट सुगर मिल, भागेश्वर सुगर मिल, हिमालयन सुगर मिल, इस्टर्न सुगर मिल र रिलायन्स सुगर मिल छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले सरकार र उखु किसानसँग १८ पुसकोे सहमति भएअनुसार चिनी उद्योगले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी नगरे प्रशासनिक प्रक्रियाबाट कारबाही अघि बढाउने बताए । प्रवक्ता भट्टाईले अन्नपूर्ण चिनी उद्योगलाई गत शुक्रबार तत्काल उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको बताए ।
यसैगरी, उनले लुम्बिनी सुगर मिलका सञ्चालक सम्पर्कविहीन भएको जनकारी गराएका छन् । सो मिलका सञ्चालकलाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरिएको प्रवक्ता भट्टराईले बताए ।आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS