काठमाडौं । अटोमोबाइल्स व्यवसायका विभिन्न समस्याहरूबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा छलफल भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पुगेको ६ सदस्यीय प्रतिनिधिमण्डलसँग छलफल भएको हो । सो अवसरमा कोभिड—१९ का कारण ठूलो समस्यामा परिरहेका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा छलफल भएको नाडाले जनाएको छ ।
हिजो बुधबार विभागमा पुगेको टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग यसबारे छलफल गरेको हो । प्रतिनिधिमण्डलले अटोमोवाइल्स व्यवसायका विभिन्न समस्याहरूका विषयमा छलफल गरेकोे बताएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको भन्दै सवारीसाधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे छलफल गरेका छन् । छलफलमा नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरुबारे महानिर्देशक पौडेललाई जानकारी गराएका छन् ।
त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नवीकरण पाँच वर्षका लागि हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनुपर्ने तथा नयाँ एक्जीम कोड लिँदा बैङ्क ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैङ्क ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरेका छन् ।
त्यस्तै सो छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरेका छन् ।
छलफलका क्रममा विभागका महानिर्देशक पौडेलले अटोमोवाइलल्स क्षेत्रमा ज्वलन्त रुपमा के–के समस्याहरू छन त्यसलाई बुँदागत रुपमा विभागमा पठाउन अनुरोध गरेको नाडाले जानकारी दिएको छ । सो छलफलमा विभागकातर्फबाट विभागका प्रवक्ता शिवराज सेढाई समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती र सहकोषाध्यक्ष विक्रम सिंहानियालगायतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS