काठमाण्डौँ — नेपालगन्ज विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको डिजाइन र लागत स्टिमेट तयार भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि ३० करोड रुपैयाँको लागत स्टिमेट तयार गरिएको जनाउँदै नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले केही समयभित्रै टेण्डर प्रक्रिया सुरु गरिने बताए ।
अन्तर्राष्ट्रिय उडानका लागि सबैभन्दा पहिले अन्तर्राष्ट्रियस्तरका पूर्वाधार निर्माण आवश्यक रहेको जनाउँदै उनले त्यसका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका साथसाथै अन्य पूर्वाधार तयार गरिने जनाए ।
लागत स्टिमेट तयार भैसकेपछि ठेक्का आह्वान गर्ने बाटो खुलेको जनाउँदै नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख ठाकुरले सो टर्मिनल भवनभित्र इमिग्रेसन, भन्सार, क्वारेन्टाइन र सुरक्षा पोस्टलगायतका अति आवश्यक भवनहरू रहने बताएका छन् ।
अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि टेन्डर भइसकेपछि यी सबै भवन निर्माणमा करिब डेढ वर्ष लाग्ने र त्यसपछिमात्र अन्तर्राष्ट्रिय उडान सम्भव हुने प्रमुख ठाकुरले बताए ।
— कारोबार
FACEBOOK COMMENTS