काठमाडौंं-कोभिड–१९ बाट सिर्जित लकडाउनका कारण अपाङ्गता जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ५ स्थित जोरपाटीमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठको आयोजनामा अपाङ्गता भएका ३० परिवारलाई राहत सहयोग वितरण गरिएको हो। बौद्ध स्थित भोलम युथ क्लबले देश–विदेशमा रहेका मनकारी दाताहरु मार्फत संकलित सहयोग राहत सामाग्री सहित नगद समेत राहत सहयोग गरेको छ । भोलम युथ क्लबका लोप्सन शेर्पाका अनुसार लकडाउनमा दैनिक रुपमा निःशुल्क खाना खुवाउने लगायत विभिन्न स्थानमा राहत दिने कार्य भएको छ।
आयोजक युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले आफ्नो संस्थामार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्ति विशेषहरुलाई स्वरोजगारमुलक मोवाइल रिपेरिङ, सिलाई बुनाई लगायतका तालिम दिएर रोजगारी प्रदान गरिसकेको बताए । काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिकासंग समन्वय गरेर अपाङ्गहरुलाई स्वरोजगार पसल संचालनमा सहयोग लगायतका विविध कार्यक्रम गर्दैआएको तथा यसबाट धेरैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी प्राप्त गरेको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिए ।अध्यक्ष श्रेष्ठ स्वयम् पनि अपाङ्ग हुन भने उनको परिवारमा पनि अपाङ्ग छन । अध्यक्ष श्रेष्ठले अपाङ्गताको क्षेत्रमा आफूले सेवामुलक कार्य गर्दै रोजगारी दिलाउदै जाने प्रतिवद्धता व्यक्त गरेका छन्।
FACEBOOK COMMENTS