काठमाडौं, पुस ७- नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकामा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली (PSTN Enquiry System) सञ्चालनमा ल्याइएको हो । त्यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्ने बताइएको छ । त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ ।
व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।
विगतमा पनि पिएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनःपरिमार्जित रूपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिक माध्यमबाट बिना झण्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको टेलिकमको भनाई छ ।
FACEBOOK COMMENTS