काठमाडौं, मंसिर १० – अब अनलाइनबाटै वैदेशिक रोजगार कल्याणकारी कोष तथा बीमा शुल्क तिर्न सकिने भएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली अन्तर्गत श्रम स्वीकृति तथा नवीकरणका लागि लाग्ने शूल्क अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाइएको हो ।
अनलाइनबाटै बीमाको शूल्क तिर्ने व्यवस्थाका लागि सन लाइफ इन्स्योरेन्सले ईसेवासँग सहकार्य गरेको छ । वैदेशिक रोजगारमा जान चाहनेले अब ईसेवाबाटै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
हाललाई ईसेवाको वेबसाइटमा मात्र रहेको यो सेवा बुधबारदेखि नै एन्ड्रोइड एपमा समेत उपलब्ध हुने ईसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए । उनले अगाडि भने, ‘आईओएसमा भने बिहीबारसम्मको समय लाग्न सक्छ ।’
ईसेवाबाटै बीमा शूल्क भुक्तानी गर्न चाहनेले अंग्रेजीमा (फरेन इम्लोइमेन्ट) सर्च गर्नुपर्नेछ । जसमा सनलाइफको म्यादी बीमाको अप्सन फेला पार्न सकिनेछ । वैदेशिक रोजगार विभागका अनुसार यो सेवा सुरुवातको औपचारिक घोषणा हुन बाँकी रहेको भए पनि परीक्षण सफल भइसकेकाले सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् ।
वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क भने करिब एक महिना देखि नै अनलाइन प्रणालीमा समावेश भइसकेको छ । जसअनुसार सेवाग्राहीले ईसेवा र खल्ती वालेटबाट सहजै वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।
यसका लागि ईसेवाले शिद्धार्थ बैंकसँग सहकार्य गरेको छ । कनेक्ट आईपीएसमा भने यो सेवा आउँदो सोमबारदेखि उपलब्ध हुने वेदेशिक रोजगार विभागका आईटी प्रमुख राजु महर्जनले जानकारी दिए ।
सेवाग्राहीले सम्बन्धित सेवाप्रदायकको एप तथा वेबसाइटमा गएर फरेन वेलफेयर (Foreign Welfare) सर्च गरी कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्नेछन् । रकम जम्मा गरेसँगै तत्कालै अनलाइनमा त्यसको भौचर प्राप्त गर्न सकिनेछ ।
सेवाग्राहीले श्रम स्वीकृतिको अवधि तथा उमेर राख्दा बीमा शूल्क तथा कल्याणकारी कोषको शूल्क स्वतः देखिने बनाइएको छ । यस अघि श्रम स्वीकृति लिनका लागि सेवाग्राहीले दलाल तथा बिचौलियालाई चर्को कमिसन दिनुपर्ने बाध्यता रहेको थियो ।
बीमा शूल्क भुक्तानी गरिसकेपछि तत्कालै पोलिसी नम्बर प्राप्त हुने र पोलिसीको कागजात ईमेलमार्फत नै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । एफईआईएमएसमा अनलाइन भुक्तानी इन्ट्रिगेसन भएसँगै अब वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सेवा अनलाइनबाट उपलब्ध गराउन संभव भएको विभागले जनाएको छ ।
FACEBOOK COMMENTS