काठमाडौं, ०३ भाद्र – काठमाडौं स्थित बुद्धनगर, रुद्रमतीमा अवस्थित संस्थागत रोज बड स्कुलले अभिभावकहरुसँग अतिरिक्त शुल्क असुली गरेको पाइएको छ । कोभिड १९ को संक्रमणका कारण विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिती नहुँदा नहुँदै पनि विद्यालयले अतिरिक्त कृयाकलापको शुल्क समेत लिदै आएको भेद खुलेको छ । विद्यालयले हाल अनलाईन मार्फत कक्षाहरु संचालन गरिरहेको छ । सरकारले घर मै रहेर विद्यार्थीहरुको पठन पाठनलाई अगाडि बढाउन पाउने व्यवस्था गरे अनुरुप विद्यालयले अनलाईन कक्षा संचालन गर्दै आएको छ ।
हाल विद्यालयबाट विद्यार्थीहरुले अनलाईन कक्षा बाहेकका अन्य सुविधा उपयोग गर्ने कुरा कल्पना बाहिरको बिषय हो । किनकी भौतिक उपस्थिती वेगर कृयाकलापमा सहभागी हुने भन्ने सवाल नै उठदैन । तर रोज बड विद्यालयले भने अभिवाभकहरुलाई मासिक शुल्क वाहेक पनि अन्य शुल्क जोडेर शुल्क असुल्न थालेको भेटिन्छ । कर्पोरेट खबरलाई प्राप्त केही तथ्यले विद्यालय व्यवस्थापनको कपटलाई उजागर गर्दछ । विद्यालयले अभिभावकहरुलाई फी अर्थात मासिक शुल्क तिर्न अनुरोध गर्दै प्रेसित गरेको सुचनामा खाजा खर्च र बस सेवा बाहेकको शुल्कमा ६० प्रतिशत छुट गरि केबल ४० प्रतिशत मात्र लिने भनिएको छ ।
तर रकम असुलीका लागि प्रेसित शुल्क विवरणमा भने मासिक शुल्क हाराहारी नै तिर्न ताकेता गरेको देखिन्छ। सो विद्यालयमा आठ कक्षामा अध्ययनरत बिद्यार्थीको मासिक शुल्क नै रु. ३९२०, अक्षेरपी तीन हजार नौ सय बिस उठाउन थालेको देखिन्छ । अभिभावकहरुको सुझावको आधारमा मासिक शुल्कमा ६० प्रतिशत छुट दिने निर्णय गरेको भनेता पनि विद्यालयले अत्तिरित्त शुल्क समेत जोडेर ६० प्रतिशत छुट गरेको देखिन्छ । रोज बड स्कुलको गत बर्षको मासिक शुल्क हेर्दा सात कक्षाका पच्चिस सय देखिन्छ । रोज बडले जारी गरेको गत शैक्षिक सत्रको बिलमा फाल्गुन र चैत्र महिनाको शुल्क पाँच हजार उल्लेख गरेको छ । गत शैक्षिक सत्रमा सात कक्षामा अध्ययनरत विद्यार्थी हाल आठ कक्षामा पुगेका छन्। विद्यालयले हाल दैनिक २ देखी ३ वटा बिषयका कक्षाहरु अनलाईन मार्फत संचालन गरेको छ । मासिक फि चार हजार नौ सय उल्लेख गरेको देखिन्छ । जसको साठि प्रतिशत छुट सहितको मासिक शुल्क रु. १९६० अक्षरपी एक हजार नौ सय साठि मात्र हुनु पर्ने हो । तर विद्यालयले अतिरिक्त शुल्क समेत जोडेर रु. ३९२० तिराएको छ । विद्यालयले अभिभावकहरुको सुझावको हवाला दिदै बस र खाजा खर्च बाहेक शैक्षिक शुल्कमा साठि प्रतिशत छुट दिने निर्णय गरेको व्यहोरा दर्शाएको छ ।
विद्यालयले प्रवाह गर्ने सेवाका आधारमा मात्रै रकम तिर्न आग्रह गर्न सक्ने अवस्था रहेकोमा रोज बडले भने विद्यार्थीले उपयोग नै गर्न नपाएको शिर्षक समेतलाई जोडेको छ । जुन सरासर गलत हो ।
अभिभाभक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले यसरी अतिरिक्त्त शुल्क लिनु बेईमानी भएको प्रतिकृया दिएका छन्।उनी भन्छन् ‘हाल जुन खाले संकट देखा परेको छ यसबाट सम्पूर्ण क्षेत्र प्रभावित बनेको छ, अधिकांश अभिभावकहरुको आय स्रोत संकुचित भएको अवस्थामा सक्नेसँग मात्रै शुल्क लिनुपर्ने हो, अझ अतिरिक्त शुल्क समेत जोडेर शुल्क असुल्न खोज्नु भनेको सरासर बेईमानी हो र अन्यायपूर्ण पनि छ ।’
उनले अन्य संस्थागत विद्यालयहरुले पनि चर्को रकम असुली रहेको भन्ने कुरा महासंघसम्म आईपुगेको बताउदै भने ‘अब सरकारले अनलाईन कक्षा संचालन र शुल्क निर्धारण गर्न तत्काल मापदण्ड ल्याउन जरुरी छ, अन्यथा अभिभावकहरु ठगिने अवस्था छ’ ।
भण्डारीले महामारीको बेला निजी विद्यालयका शिक्षकहरूलाई सरकारले नै तलबकाे जोहो गर्दा राम्रो हुने धारणा समेत राखेका छन्।
बढदो संक्रमणका कारण परिस्थिती काबु बाहिर रहेकाले सरकारले नयाँ शैक्षिक सत्र घोसणा गर्न सकेको छैन । यस अर्थमा पनि नयाँ शैक्षिक सत्र शुरु भएको मानी रकमी हिसाबले पनि गणना गर्न पाईदैन । तसर्थ कुनै पनि विद्यालयले बिल जारी गर्न पाउने अवस्था छैन । यद्यपी शिक्षक शिक्षिका र कर्मचारीलाई तलब खुवाउनु पर्ने, घर भाडा तिर्नु पर्ने जस्ता दायित्वको भार अभिभावकको पोल्टामा हाल्ने खेलमा कतिपय निजी विद्यालयहरु लागेका छन्।
FACEBOOK COMMENTS