काठमाडौं, जेठ २१ – अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्ला समकक्षी डोनाल्ड ट्रम्पले झन्डै एकदर्जन चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिएका छन् ।
सीएनएनका अनुसार चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंका गरिएका ती कम्पनीमाथि लगाइएको प्रतिबन्धको समय बिस्तार गरिएको हो ।बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दैै राष्ट्रपति बाइडेनले ५९ वटा चिनियाँ कम्पनीसँग व्यापार तथा खरिद गर्न अमेरिकी नागरिकलाई रोक लगाएको घोषणा गरेका छन् ।
ती कम्पनीसँग कारोवार गर्दा सम्भावित जोखिम हुनसक्ने ह्वाइट हाउसको ठम्याइ छ । गत नोभेम्बरमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले ३१ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएका थिए ।ती कम्पनीले चिनियाँ सेनालाई मद्दत गर्ने आशंका गर्दै त्यस्तो कदम चालिएको ट्रम्पको दाबी थियो ।
बाइडेनको यो कार्यकारी आदेश अगस्ट २ देखि लागु हुने जनाइएको छ । अमेरिकाले रोक लगाएका अधिकांश चिनियाँ कम्पनीहरु प्रविधि र व्यापारसँग सम्बन्धित रहेका छन् ।प्रतिबन्ध लगाइएकामा चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावे र हिकभिजन समेत रहेका छन् । चाइना मोबाइल, चाइना टेलिकम्युनिकेसन्स र चाइना युनिकम पनि प्रतिबन्धको सूचीमा छन् ।
FACEBOOK COMMENTS