काठमाडौं, कात्तिक २४ – खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन (आइएयु) मा पहिलोपटक नेपालीको प्रवेश भएको छ ।
डेढ दशकअघिदेखि नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) स्थापना गरी नेपालमा खगोल विज्ञानको अध्ययन अनुसन्धानमा काम गर्दै आएका संस्थापक अध्यक्ष सुरेश भट्टराईलाई आइएयुले एशोसियट सदस्य पदमा मनोनयन गरेको हो । यसअघि सन् २०१८ देखि भट्टराईले आइएयुको नेपाल प्रतिनिधिका रुपमा काम गर्दै आएका थिए ।
भट्टराईलाई आइएयु अफिस फर एष्ट्रोनोमी आउटरिच जापान कार्यालयको सिफारिसमा युनियनको मुख्यालय पेरिसले एशोसिएट सदस्य पदमा मनोनयन गरेको हो ।
भट्टराई विसं २०७३ देखि त्रिचन्द्र क्याम्पस घण्टाघरमा भौतिक विज्ञान विषयको आंशिक उपप्राध्यापकका रुपमा समेत कार्यरत हुनुहुन्छ । सदस्य नियुक्त भएपछि उनले नेपालमा खगोल विज्ञानको शिक्षा, जनसम्पर्क, सम्पदा तथा संस्कृतिको क्षेत्रमा पनि काम गर्ने कार्ययोजना रहेको जानकारी दिए ।
खगोल विज्ञान क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थासँग समेत सहकार्य गरिने जनाइएको छ ।
FACEBOOK COMMENTS