काठमाडौं, असोज १३ – रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
दुबईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो । सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए ।
कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा हार्दिक पाण्डयले १४ र क्विनटन डी कक १४ रनमा आउट भए । बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले ।
डी भिलियर्सले अविजित रहदै ५५ अर्धशतकीय इनिङ्स खेले । यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए । शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।
जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्ने छन् ।
FACEBOOK COMMENTS