काठमाडौं, पुष १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले बसालेको जग अब देखिने गरी थप उचाइमा पुग्ने बताएका छन् । नयाँ वर्ष सन् २०२१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने बताए ।
‘आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं ।’
आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने उनले उल्लेख गरेका छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउँदै ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधानहरूको सामना गर्नु परेको स्मरण पनि गरेका छन् ।
‘हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु’।
FACEBOOK COMMENTS