काठमाडौं, पुस २३ – बुधबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसार अहिले धुम्मिएको काठमाडौं उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ । तर फेरि बादल लागेर मेघगर्जनसहित पानी पर्ने छ ।
आज दिनभर मौसम सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ। पूर्वी भू-भागमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
त्यसै गरी आज राती सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ ।
FACEBOOK COMMENTS