काठमाडौं, वैशाख ३० । उपत्यकामा आजदेखि थप दुई साता निषेधाज्ञा लागू भएको छ । यसअघि वैशाख १६ देखि लगाइएको निषेधाज्ञा दुई पटक थप्दा २९ गतेसम्म लागू भएको थियो ।
त्यसपछि, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी थप दुई साता निषेधाज्ञा थपेका हुन् । आजदेखि थपिएको निषेधाज्ञामा खाद्यान्न पसल विहान १० बजेसम्म खोल्न पाइने भएको छ ।
यसअघि, हिजोसम्मको निषेधाज्ञामा विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । तर, त्यस अवधिमा निकै भिडभाड भएपछि अत्यावश्यक दैनिक उपभोग्य वस्तुको किनमेल गर्ने स्थान किराना÷खाद्यान्न पसल थप एक घन्टा खोल्न दिने निर्णय उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका हुन् ।
काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले खाद्यान्न र औषधी पसलबाहेक अन्य कुनै पनि पसल सञ्चालन गर्न नपाइने बताइन् ।
उनले भनिन्, ‘यसअघि साइकल, ठेलागाडा र कवाडीवाला हिड्डुल गर्न पाउँथे । तर, यसपटकदेखि उनीहरुलाई पनि रोकिने छ ।’
FACEBOOK COMMENTS