काठमाडौं, कार्तिक २६ – माउण्टेन इनर्जी नेपाल लिमिटेडले (आज) कात्तिक २६ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर विक्री खुला गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।
सो मध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई छुट्याईएको र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिए पश्चात बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयरका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
यस साधारण शेयर खरिद गर्नको लागि सर्वसाधारणले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गते (बैंकिङ समयसम्म) आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा मंसिर १० गते (बैंकिङ समयसम्म) आवेदन गर्न पाइने व्यवस्था गरिएको छ ।
आयोजनाले नुवाकोट जिल्लाको सुन्दरादेवी स्थित तादी खोला (थप्रेक) जलविद्युत आयोजनाबाट ५ मेगावाट विद्युत उत्पादन कार्य शुरु भै सकेको छ भने म्याग्दी जिल्लाको नारच्याङ्ग स्थित मिस्ट्री खोला जलविद्युत आयोजनाबाट ४२ मेगावाट जलविद्युत उत्पादन गर्ने बताइएको छ । सो मध्ये ९६.१८ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ ।
आयोजनामा नेपालका प्रतिष्ठित व्यवसायीहरुको लगानी रहेको छ । प्रति मेगावाट लागत न्यून मुल्यमा रही आयोजना निर्माण भएकोले लगानीकर्ताहरुले भविष्यमा राम्रो प्रतिफल पाउन सक्ने सम्भावना रहेको पाईन्छ ।
साधारण शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।
FACEBOOK COMMENTS