काठमाडौं,कार्तिक ९- यमपञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीका दिन शनिबार काग पूजा गरी मनाइँदैछ । यसै दिनदेखि पाँच दिनसम्म यमराज मत्र्यलोकको विचरणमा रहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै सुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक सुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यो दिन कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भनिन्छ । कागलाई यमदूत मानिएको छ । काग धुरीमा कराउँदा, कागले मैथुन गरेको देखेमा अशुभ रहन्छ भन्ने ज्योतिषीय मान्यता रहेको ज्योतिषी डा। सुनिल सिटौला बताउनुहुन्छ । सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ । त्यो बेलामा देवता वर्गले एकअर्कासँग सञ्चार गर्न कागकै प्रयोग गर्ने गरेको किंवदन्ती छ । मानवको विकाससँगै धर्तीमा विचरण गरेको प्राणी पनि काग हो भन्ने लोकोक्ति छ ।
“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।
FACEBOOK COMMENTS