कात्तिक ८ काठमाडौं ।आज बसेको मन्त्रिपरिषदको बैठकले बाढीपहिरोको क्षति मूल्यांकन गर्ने देखि नियुक्तिहरु गरेको छ ।
बैठकले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुवानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
उक्त कार्य दलमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव , संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् ।
यसैगरी सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाल पुनर्विमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा.रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकले कोरोना प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीले विभिन्न देशमा रिक्त राजदूत नियुक्ति चाँडै गरिने पनि बताए ।
FACEBOOK COMMENTS