काठमाडौं,फागुन १-आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालिन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालिन माओवादीले नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले यसअघि एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाए पनि यो वर्ष भने नेकपामा आएको विभाजनका कारण दाहाल–नेपाल समूहले मात्रै जनयुद्ध दिवस मनाउने भएको छ ।
सो समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बिहान ९ बजे विभिन्न आन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिमा सभा आयोजना गरेको छ ।
१० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १३ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए ।
हजारौँ व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको एवं आफ्नो स्वार्थमा जुट्ने र फुट्ने गरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश बनेका छन् ।
FACEBOOK COMMENTS