काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल– स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन् ।
नेपाल उद्योग परिसंघसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने उल्लेख गरे ।
‘मैले मन्त्री भएलगत्तै तथ्यांकहरू हेरेँ, हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखेँ’ मन्त्री शर्माले भने, ‘यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ ।’
अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्ने बताए । उनले औद्योगिक वातावरण सिर्जनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैं तयार रहेको उल्लेख गरे । ‘सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो’, मन्त्री शर्माले भने ‘निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौँ । तपाईंहरूले लगानी बढाउनुस् ।’
मन्त्री शर्माले आफू निजी क्षेत्रबाट रचनात्मक सुझाव र सल्लाह लिएर अघि बढ्ने पनि बताए । उनले कोभिड–१९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गरे । मन्त्री शर्माले असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सिर्जना आफ्नो प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरोत्थान आजको प्रमुख आवश्यकता भएको बताए । निजी क्षेत्रलाई खोपमा प्राथमिकतामा राख्न पनि अध्यक्ष मोरले आग्रह गरे ।
कोभिडले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता बोध गराइदिएको भन्दै उनले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराए ।
परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले घोषणा गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले कोभिड–१९ बाट कमजोर बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिबाट पनि सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गरे ।
FACEBOOK COMMENTS