माधब पौडेल तनहूँ, ०९ श्रावण- आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका स्थित चुदी क्षेत्रको विकासको लागि तनहुँ जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरुले पहल गरेका छन । प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठ किसान र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानले साउन ८ गतेका दिन अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.युवराज खतिवडा लाई भेटि भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राखी भानु क्षेत्र विकास समिति बनाई सोही अनुसार बजेट विनियोजन गर्न माग गरेका हुन । यस अघि केन्द्र सरकार मातहत रहेको भानु जन्मस्थल विकास समिति ३ वर्ष देखी स्थानीय तहको मातहत रहेको छ । भानु नगरपालिकाको मातहत हुँदा राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको जन्मस्थल र उनको योगदान ओझेलमा परेको गुनासो उक्त क्षेत्रका अधिकांश मानिसहरुको रहेको छ। स्थानीय बासिन्दाको सरसल्लाह र भानु नगरपालिकाको आग्रह अनुसार भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राखी अधिकार सम्पन्न भानु क्षेत्र विकास समिति बनाउने गरि पहल थालेको सांसदद्वयले बताएका छन । सांसदहरुका सुझावलाई अर्थमन्त्री डा. खतिवडाले सकारात्मक रुपमा लिई आवश्यक निर्णय गर्ने वचन दिएको जानकारी प्राप्त भएको छ ।
FACEBOOK COMMENTS