काठमाडौं, माघ २७ – इन्फिनिटी लघुवित्त संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्तबीच संयुक्त कारोबारको घोषणा भएको छ । गैंडाकोट २, नवलपुर मुख्य कार्यालय रहेको इन्फिनिटी र पोखरा महानगरपालिका १८, विन्धवासिनी केन्द्रीय कार्यालय रहेको नेपाल एग्रोबीच सोमबार साँझ संस्था एकीकरणको घोषणा भएको हो ।
समझदारी पत्रमा संस्था गाभ्ने वा प्राप्ति (एक्विजिशन) समितिका संयोजक समेत रहेका इन्फिनिटीका बलराम विष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । यद्यपि दुई संस्थाबीच एकीकरणको घोषणा भएपनि मर्जर नभएर एक संस्थाले अर्को संस्थालाई प्राप्ति (एक्विजिशन) गरेको इन्फिनिटी लघुवित्तले जनाएको छ ।
गण्डकी प्रदेशको १० जिल्ला कार्यक्षत्र रहेको नेपाल एग्रो लघुवित्तलाई गैंडाकोट २, नवलपुरको इन्फिनिटीले प्राप्ति गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले जानकारी दिए । दुई लघुवित्त संस्थाबीच एकिकरणको घोषणा भएलगत्तै मंगलबार नै इन्फिनिटीले एकिकृत कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत पत्र पठाइसकेको छ ।
FACEBOOK COMMENTS