जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेट सामाग्री बिहीबार १ बजेबाट छपाई सुरु गरिने विभागले जनाएको छ। विभागले उच्च सुरक्षा सतर्कताबीच बजेट सम्बन्धि सामाग्री छापिरहेको छ।
बजेट सामाग्री छापेको प्रबन्ध हेर्न अर्थसचिव आफैं विभाग पुग्ने गरेका छन्। उनले गोपनीयताको लागि बजेटका कोर टिमलाई समेत खटाउने गरेका छन्।
स्रोतका अनुसार सचिव शिशिर ढुंगाना विभागमा काम गर्ने सबैको नाम याद गर्छन् र महत्वपूर्ण सामाग्री छपाईमा आफैं खट्ने गरेका छन्। यस्तै आफू नरहेको समयमा अन्य व्यक्तिलाई खटाउने गरेका छन्।
बजेट गोपनीयतालाई मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। कुल बजेट अंक खुल्ने पृष्ठ विभागमा नपठाई मन्त्रालयबाटै व्यवस्थापन गरिने मन्त्रालयका एक सहसचिवले बताए।
बजेट सामाग्री छपाई गर्न विभागले ५० जना कर्मचारी खटाएको छ। सबै कर्मचारीलाई पीपीई सेट लगाउन दिइ बजेट छपाई सुरु गरेको छ। सबै कर्मचारीलाई खाजा खानाको व्यवस्था विभागभित्रै गरिएको छ।

कुनै पनि कर्मचारीले मोबाइल वा बजेट सामाग्री अध्ययन गर्न पाउँदैनन्। यी कर्मचारीहरुलाई अब अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेपछि मात्रै बाहिर निस्कन दिइने छ।

बजेट सामाग्री गोपनीयता र सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ७ जना प्रहरी खटाइएको छ।