काठमाडाैं, फागुन २६ – उत्तर कोरियाको नयाँ भूउपग्रहीय तस्वीर हेर्दा उसले आणविक हतियार भण्डारणका लागि उपयोग गरिरहेको एक स्थानलाई लुकाउने प्रयास गरिरहेको अमेरिकी गुप्तचरी निकायहरूले बताएका छन् ।
बाइडन प्रशासनलाई किम जोङ उनको व्यवस्थापन कसरी गर्ने भनी स्पष्ट रणनीति बनाउन आलोचकहरूले जोड दिइरहेको बेलामा यो भूउपग्रहीय तस्वीर सार्वजनिक भएको हो ।
म्याक्सरले फेब्रुअरी ११ मा लिएको तस्वीरलाई मिडलबरी इन्स्टिच्युटका विज्ञहरूले विश्लेषण गरेका छन् । त्यसमा उत्तर कोरियाले योङदोकतोङमा नयाँ संरचना बनाएको देखिन्छ । आणविक हतियार राखिएको स्थानसम्म जाने
भूमिगत सुरुङका प्रवेशद्वारलाई रोक्न यसो गरिएको हुनसक्ने अनुसन्धाताहरूले बताएका छन् ।
योङदोकतोङलाई अमेरिकी गुप्तचरी निकायले आणविक हतियार भण्डारण गर्ने स्थानका रूपमा पहिचान गरेको छ र अहिले पनि त्यसै रूपमा उपयोग गरिएको एक गुप्तचर अधिकारीले बताए ।
सीएनएनले प्राप्त गरेको भूउपग्रहीय तस्वीरले अमेरिकाका राष्ट्रिय सुरक्षा अधिकारी तथा विज्ञले विश्वास गरेको कुरालाई पुष्टि गरेको छ । त्यो कुरा भनेको उत्तर कोरियाले देशका विभिन्न भागमा सक्रिय रूपमा आणविक हतियार विकसित गरिरहेको छ र पहिले नै जम्मा गरेको हतियारलाई लुकाउने प्रयास गरिरहेको छ ।
FACEBOOK COMMENTS