पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बिक्री गरेको अनि ओपीसी र पीपीसी सिमेन्टमा मिसावट गरी उपभोक्तालाई बिक्री
विभागका अनुसार बारामा रहेको हुलास स्टिलले म्यादभित्र नवीकरण नगरिएको
उद्योगमा ग्यास सिलिन्डरको भल्ब, लिकेज परीक्षणको सुविधा भए पनि हेलचेक्य्राइँ गरेको
नेबिको खाजा बिस्कुट, थिन आरारोट तथा कोकोनट बिस्कुट गुणस्तर ऐनअनुसार नभेटिएको
काठमाडौं — उद्योगीले बिक्री गर्दै आएको सिमेन्ट, स्टिल, खाना पकाउने ग्यास, तेल, बिस्कुटलगायत वस्तुमा व्यापक खेलबाड भएको पाइएको छ । गुणस्तर तथा नापतौल विभागले एक वर्षको अवधिमा गरेको नमुना परीक्षणका क्रममा सिमेन्ट उद्योगले पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बिक्री गरेको अनि ओपीसी र पीपीसी सिमेन्टमा मिसावट गरी उपभोक्तालाई बिक्री गरेको भेटिएको हो ।
ग्यास उद्योगीहरूले पनि चरम लापरबाही गरेको पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जनाए । कतिपय उद्योगमा ग्यास सिलिन्डरको भल्ब, लिकेज परीक्षणको सुविधा भए पनि हेलचेक्य्राइँ गरेको भेटिएको उनको भनाइ छ । ‘विगतको तुलनामा केही सुधार गर्न खोजे पनि पटकपटक त्यही समस्या देखियो,’ उनले भने, ‘उद्योगीहरूले बढी लापरबाही गरेको देखिन्छ ।’ परीक्षण गरिएको खानेतेल, स्टिल र बिस्कुट पनि नेपाल गुणस्तरअनुसार नपाइएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७६र७७ मा करिब १ हजार नमुना परीक्षण गरिएको थियो । बजारबाट ६ सय र उद्योगबाट ४ सय नमुना ल्याइएको थियो । त्यस क्रममा केहीले जानीजानी गल्ती गरेको पुडासैनीले बताए ।ती व्यवसायीको इजाजतपत्र रद्द गरिएको उनले जानकारी दिए ।
विभागका अनुसार अर्घाखाँची सिमेन्ट प्रालिले उत्पादन गर्ने ओपीसी सिमेन्ट नेपाल गुणस्तरअनुरूप थिएन । उक्त उद्योगलाई असोज १४ मा स्पष्टीकरण मागिएको थियो । साथै सम्बन्धित ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न तथा गुणस्तर यकिन गरी मात्र बिक्रीवितरण गर्न पत्र पठाइएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि पुस २० को निर्णयबाट इजाजतपत्र स्थगन गरिएको विभागले जनाएको छ । पछि उद्योगले आवश्यक सुधार गरेपछि इजाजत फुकुवा गरिएको छ । अरनिको सिमेन्ट प्रालिको ओपीसी सिमेन्टमा पनि उस्तै समस्या थियो । उक्त उद्योगलाई पनि बिक्रीवितरण रोक्न र स्पष्टीकरण पेस गर्न विभागले पत्र पठाएको थियो । पछि बजारमा संकलित नमुनाको परीक्षण नतिजा गुणस्तर नै भेटिएकाले बिक्रीका लागि फुकुवा गरिएको विभागले बताएको छ ।
एमजेपी सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टमा आईआरको मान गुणस्तर मापदण्डअनुसार नभएपछि विभागले फागुन १३ मा स्पष्टीकरण सोधेको थियो । साथै बजार पठाइएका उत्पादन फिर्ता लिन आदेश दिएको थियो । उद्योगबाट चित्तबुझ्दो जवाफ नआएपछि विभागले चैत १० मा उद्योगको इजाजतपत्र स्थगन गरेको छ ।
नेपाल अल्ट्राटेक सिमेन्टको ओपीसी सिमेन्ट पनि गुणस्तरअनुसारको नभएपछि विभागले बजारबाट उद्योगका उत्पादन फिर्ता लिन, ओपीसीको बिक्रीवितरण बन्द गर्न र स्पष्टीकरणसहित जवाफ पेस गर्न पत्र पठाएको थियो । पछि उद्योगको स्थलगत निरीक्षणबाट संकलित नमुना नेपाल गुणस्तरअनुरूप नै पाइएकाले उद्योगको कारबाही फुकुवा गरिएको छ । नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालिको उत्पादन श्रीराम ओपीसी, जानकी सिमेन्टको ओपीसी, चितवन सिमेन्ट प्रालिको उत्पादन पीपीसी, हिमालय सिमेन्ट र विशाल सिमेन्टमा पनि उस्तै समस्या देखिएको विभागले जनाएको छ ।
खाना पकाउने ग्यासमा पनि उद्योगीले चरम लापरबाही गरेको पाइएको छ । एनएन चिह्न प्राप्त गरेकै सिद्धार्थ, ओम र श्रीकृष्ण ग्यासले उपभोक्तमाथि खेलबाड गरेको भेटिएको हो । विभागका अनुसार सिद्धार्थ ग्यास उद्योगमा ग्यासको भल्ब, लिकेज परीक्षणको व्यवस्था नै थिएन । उक्त बोटलिङ कार्य बन्द गरिएकामा कात्तिक १५ को निर्णयबाट फुकुवा गरिएको छ । ओम ग्यास उद्योगमा भल्ब, लिकेज परीक्षण गर्ने मेसिन भए पनि परीक्षणबिनै बजारमा पठाउने गरिएको थियो । विभागले गत कात्तिक ७ मा बोटलिङ बन्द गरिदिएको थियो ।
पछि गुणस्तरअनुसार पाइएपछि बोटलिङ कात्तिक १५ गते पुनः फुकुवा गरिएको विभागले जनाएको छ । नमस्ते ग्यास उद्योगले बोटलिङ प्लान्टमा सेफ्टी क्याप नलगाई सिलिन्डर बिक्रीका लागि पठाएको भेटिएको थियो । उक्त उद्योगलाई पनि विभागले स्पष्टीकरण मागेको थियो । उद्योगले अहिलेसम्म एनएस चिह्न प्राप्त गरेको छैन । यस्तै श्रीकृष्ण, साइबाबा, भानु र त्रिवेणी ग्यास उद्योगले पनि बजारमा पठाउने ग्यास गुणस्तर मापदण्डअनुसार नभएको पाइएको विभागको दाबी छ । यी उद्योगलाई पनि विभागले स्पष्टीकरण सोधेको थियो ।
स्टिल उद्योगको पनि उस्तै समस्या रहेको विभागले बताएको छ । विभागका अनुसार बारामा रहेको हुलास स्टिलले म्यादभित्र नवीकरण गरेको थिएन । ०७६ साउन १३ मा उद्योगको इजाजत रद्द गरिएको थियो । पछि नवीकरण गरेपछि मंसिरमा पुनः नयाँ इजाजतपत्र दिइयो । बारास्थित जगदम्बा स्टिल्स प्रालिको जीआई तार पनि नेपाल गुणस्तरअनुसार भेटिएन । उक्त उद्योगलाई असार १८ मा स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि भदौ १७ मा इजाजतपत्र स्थगन गरियो । पछि गुणस्तरअनुसारको पाइएपछि असोज ७ मा इजाजत फुकुवा गरिएको विभागको भनाइ छ । नेबिको प्रालि काठमाडौंका उत्पादन नेबिको खाजा बिस्कुट, थिन आरारोट तथा कोकोनट बिस्कुट गुणस्तर ऐनअनुसार नभेटिएको विभागले जनाएको छ ।
FACEBOOK COMMENTS