काठमाडौं, पुस २१ – नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सन्राइज बैंक लिमिटेड बीच समझदारी भएको हो ।
आइतबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाको उपस्थितीमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशाराणा अधिकारीले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
सहमति अनुसार महासंघमा आबद्व उद्यमीहरुलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासंग सम्बन्धित जानकारीमुलक कार्यक्रमका साथै विशेषत महिलाहरुको उद्यमशीलता तथा महिला सशक्तिकरणका लागि सहुलियतपूर्ण कर्जाको अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ । अभिमुखिकरण कार्यक्रममा आयात तथा निर्यात व्यापारको वस्तुस्थितिका साथै सो वापत प्राप्त हुने अनुदान बारेमा समेत जानकारी गराईने छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष राणाले बैंक र महासंघबीचको सहकार्य महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशिलता विकास गर्ने कार्यमा कोशेढुंगा सावित हुने बताएकी छिन । आर्थिक रूपमा महिला शसक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै अध्यक्ष राणाले महासंघ र बैंकबीचको सहकार्यले महिलाको आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास लिएको बताईन ।
FACEBOOK COMMENTS