काठमाडौं,पुस १९- काठमाडौं उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं। १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।
आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । पहिलो चरणमा सेल नं। १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं। २ को बाँकी काम गरिनेछ । अब कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन् ।
स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित एक हजार सात सय रोपनी जमिन ओगटेको महानिर्देशक गेलालले जानकारी दिनुभयो । त्यसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ । जमिनको भागमध्ये ४० प्रतिशत भागमा हाल ल्यान्डफिल साइटको सेल नं। १ तयार हुँदैछ ।
यो स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक प्रणालीमा आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको महानिर्देशक गेलालले बताउनुभयो । “जमिनमुनिको पानी व्यवस्थित गर्न सबैभन्दा मुनि ट्रेन्च बनाइएको छ । ट्रेन्चमाथि पिबल ९गोला ढुङ्गा०लाई जियोटेक्सटायलले बेरेर खाल्डो भरिन्छ ।
त्यसपछि चिम्ट्याइलो माटोले वाटर प्रुफिङ गरिनेछ । त्यसमाथि पानी नछिर्ने गरी जियोमेम्ब्रेन ओछ्याइने छ । त्यसमाथि पिबल राखेर लेदो ९लिचेट० पानी निकाल्ने पाइप बिछ्याइन्छ”, उहाँले भन्नुभयो । लेदो सङ्कलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ । पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ । फोहोरबाट निस्कने ग्यास सङ्कलन गर्न पनि पाइप बिछ्याइनेछ ।
यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरू बताउँछन् । फोहोरलाई स्रोतमै छुट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याइएमा यो ल्यान्डफिल साइटमा एक सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने महानिर्देशक गेलाल बताउनुहुन्छ ।
गएको वैशाखदेखि निर्माण सुरु भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा मङ्सिरदेखि नै फोहोर लैजान दिने विभागको योजना थियो । निर्माण ढिला हुँदा क्षमता सकिएको सिसडोलमा नै उपत्यकाका १८ वटा नगरको फोहोरमैला व्यवस्थापन हुँदै आएको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागत सम्झौतामा बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS