काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र संयुक्त अरब इमिरेटस् (यूएई)का राजदूत साईद हमदान सइद हम्दान अल नाक्वेई बीच भेटवार्ता भएको छ ।
छलफलमा मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीको लागी उपयुक्त वातावरण बनेको भन्दै युएईका लगानीकर्तालाई नेपालमा लगानीको लागी प्रेरित गरिदिन आग्रह गरेका छन् ।
उनले दुई देशबीचको सम्बन्ध घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
भेटमा राजदूत सहिदले उर्जा क्षेत्रमा सरकारसंग काम गर्न युएई इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो । उनले युएईले पनि तेल र ग्यांसको सट्टा उर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिंदै नेपालमा पनि लगानीको लागी आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आईतबार सिंहदरवारस्थित उर्जामन्त्रालयमै पुगेर कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
उर्जामन्त्री वर्षमान पुन युएईको तीन दिने भ्रमणमा जांदै छन् । सम्मेलनमा ७० मुलुकका उर्जामन्त्रीहरुको सहभागीता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरुको सहभागी समेत रहनेछ । १ सय ५० देशको सहभागीता रहने उक्त सम्मेलनमा तेल,ग्यास, जलविद्युत,पुर्वाधार,उर्जा उत्पादन, वैकल्पिक उर्जा,नविकरणिय उर्जा र ग्रिड प्रविधिको बिषयमा छलफल हुने उर्जामन्त्रालयले बताएको छ।
FACEBOOK COMMENTS