बजारमा महँगी बढेपछि दसैं चहलपहलमा कमी आएको छ । ग्रामीण क्षेत्रका बासिन्दामा खासै उत्साह छैन । आइतबार घटनास्थापनासँगै दसैं सुरु भए पनि महँगीका कारण बजारमा किनमेल पातलो छ ।
‘सामान्य जागिरले दसैं धान्न मुस्किल छ,’ राउतले भने, ‘छोरोको जागिरबाट आएको थोरै रकमले धान्नै नसक्ने अवस्था छ ।’ प्रहरी जवान छोरोले ३० हजार रुपैयाँ पठाउँदै दसैंमा आवश्यक पर्ने खसी, बालबच्चालाई कपडा र नुनतेल मरमसलाको जोहो गर्नु भनेको उनले सुनाए ।
‘३० हजारभन्दा धेरै पठाउन सकिएन, त्यसैले पुर्याउनु है बुबा भनेको छ,’ राउतले भने, ‘४ छोराछोरी, बूढाबूढी र दुई नातिलाई लुगा किन्दै १८ हजारले पनि पुगेन ।’ अब टीकोटालोका लागि रुपैयाँ, मासु र मरमसला १२ हजारले पुर्याउनुपर्ने बाध्यता छ तर पुर्याउन सक्ने अवस्थै नभएको उनले बताए । एउटा छोरा जागिरे हुँदा पनि राउतले दसैं नरमाइलो हुने बताए ।
उनकै छिमेकी कालु बस्नेतका छोराछोरी जागिरे छैनन् । आम्दानीको दरिलो स्रोत पनि छैन । ‘त्यसैले दसैं नआए पनि हुन्थ्यो लाग्छ,’ उनले भने, ‘हामी जोइपोइले दैनिक ज्यालादारीबाट कमाएको थोरै थोरै जम्मा गरेको धनले दसैं टार्नुपरेको छ ।’
बस्नेतका तीन छोराछोरीलाई लुगा किन्दा तीन महिनायता जम्मा गरेको थोरै रकम सकियो । इष्टमित्रले ज्याला मजदुर गर्दा खुसी भएर ज्याला बाहेक दसैंका लागि भनेर दिएको ४/५ पाथी धानको चामल तयार गरिएको कालुकी पत्नी सुन्तलीले बताइन् ।
FACEBOOK COMMENTS