काठमाडौं, फागुन १६- काभ्रपलाञ्चोकको पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुंगाबाट यहाँका स्थानीयले मासिक करिब २४ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुंगा’ मा चढ्न १० रुपैयाँ शुल्क लाग्ने गर्दछ ।धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका कारण व्यावसायिकरूपमा टिकटको व्यवस्था गरिएको हो ।
त्यहाँबाट हिमालका दृश्यावलोकन गर्नुका साथै वरिपरिका विभिन्न मनोरमस्थल हेर्न पाइने भएकाले मनोरञ्जनका साथै आनन्द लिनका लागि पु्ग्ने आन्तरिक तथा बाह्य पर्यटकले चुच्चेढुंगा चढेवापत सो शुल्क तिर्नुपर्छ ।
पहिला खुलारूपमा घुम्न र सो ढुङ्गामा चढ्न पाएको भए पनि पछिल्लो समयमा जग्गाधनीले ढुंगा भएको वरिपरि तारबार गरेर टिकटको व्यवस्था गरेपछि कमै मान्छेले मात्रै सो ढुंगा चढ्ने गरेका छन् । सबैको रोजाइ चुच्चेढुंगा चढ्ने नभए पनि विशेषगरी बालबालिका र युवायुवती जोडीको पहिलो रोजाइ चुच्चेढुंगा चढ्नु र तस्वीर खिच्नु रहेको पाइन्छ ।
त्यसरी चढ्न जानेहरुले काटेको टिकटबाट मात्रै दैनिक ८०० भन्दा बढी रकम संकलन हुने गरेको व्यावसायिक प्रजिता श्रेष्ठले जानकारी दिए । ‘दैनिक ८०० को हाराहारीमा रकम जम्मा हुन्छ,’ उनले भने, ‘शनिबार र बिदाको दिन मान्छेको आगमन बढी नै हुन्छ ।’
पहिले खुला रहेको डाँडामा पर्यटकको आगमन बढ्न थालेपछि सो ठाउँ अहिले होटल र रिसोर्टका साथै साना खुत्रुके पसलले भरिन थालेका छन् । जहाँ एकपछि अर्को गर्दै व्यवसायीले होटल र साना पसल राख्न थालेपछि खुलारूपमा घुम्न पाउने अवस्था अन्त्य भएको छ । व्यवसाय आफ्नो–आफ्नो जग्गामा घेराबार लगाएर वनभोजस्थल र उद्यान बनाउन थालेका छन् ।
घुम्न आउनेले गरेको विभिन्न प्रकारका फोहर व्यवसायी मिलेर नै सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको व्यवसायी श्रेष्ठले बताए ।’हामीले जम्मा पारेको फोहरलाई नगरपालिकाले हप्ताको दुईपटक उठाउँछ,’ उनले भने, ‘हामीले यहाँ फोहर टिप्नका लागि दुई जनालाई मासिक नौ हजारका दरले दिने गरी मान्छे राखेका छौँ ।’
सो ठाउँमा पुगेका कतिपयले भने अनावश्यकरूपमा रकम मात्रै सङ्कलन गरेर दुःख दिने काम गरेको प्रतिक्रिया दिएका छन् । काठमाडौँबाट घुम्नलाई देवीस्थानडाँडा पुगेका विपीन श्रेष्ठले भने, ‘पैसा तिरेवापत हामीले के नै पाउँछौं र रु पहिला आउँदा यसरी पैसा तिर्नुपर्ने थिएन, अहिले आउँदा पैसा तिरेर आउनुपर्यो, अझ ढुंगा चढ्नका लागि छुट्टै तिर्नुपर्ने रहेछ,’ उनले भने, ‘यसले यहाँ आउने पर्यटकका लागि राम्रो सन्देश दिँदैन ।’
तेमाल गाउँपालिका–६ ठुलोपर्सेलका सुनिल तामाङले पैसा तिरेअनुसारको कुनै सुविधा नभएकाले पैसा तिरेर धुलिखेलडाँडा घुम्न जानुको कुनै औचित्य नरहेको बताए। ‘पैसा तिरेपछि त त्यहीअनुसारको सुविधा हुनुपर्यो नि, केही सुविधा छैन, पैसा मात्रै कमाउने काम गरेका रहेछन् व्यवसायीले, हामीले तिरेको पैसाले खै त यहाँको संरचनामा परिवर्तन आएको रु,’ उनले भने ।
धुलिखेल–८ पिपलबोटबाट शुरु भएको हजार सिँढी चढेर माथि पुगेपछि आउने देवीस्थानडाँडा सबैको रोजाइको स्थल भए पनि पछिल्लो समयमा टिकट काटेर पैसा लिने तर व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन् । यसअघि हजार सिँढी शुरु हुने ठाउँमा गौखुरेश्वर सामुदायिक वन उपभोक्ता समिति र नगरपालिकाले संयुक्तरूपमा हजार सिँढी तथा देवीस्थान उद्यान प्रवेश शुल्कको नाममा टिकट काट्ने व्यवस्था गरिएको थियो ।
पछिल्लो समयमा नगरपालिकाले वार्षिक १८ लाखमा ठेक्कामा केएल विल्डर्सलाई जिम्मा दिएको छ । हजार सिँढी र देवीस्थान उद्यान प्रवेश शुल्क भनेर प्रतिव्यक्ति २० रुपैयाँ, विद्यार्थीलाई १० रुपैयाँ, विदेशी नागरिकलाई १०० रुपैयाँ र सार्क राष्ट्रका नागरिकलाई ५० रुपैयाँ लिने गरेको छ ।रासस
FACEBOOK COMMENTS