काठमाडौं, जेठ २३ – एनआईसी एशिया बैंकमा खाता खोल्दा स्मार्टवाच, आईफोन–१२ र ५० हजार रूपैयाँ नगदै जित्ने सकिने भएको छ । बैंकले हालै सार्वजनिक गरेको ‘अनलाइन एकाउन्ट ओपनिङ च्यालेञ्ज’ प्रतियोगिताअन्तर्गत उक्त प्रोत्साहन पुरस्कार प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
डिजिटल बैंकिङमा मुलुकको अग्रणी स्थानमा रहेको दाबी गर्ने एनआइएसी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा ‘अनलाइन एकाउन्ट ओपनिङ च्यालेञ्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ । आज (जेठ २३ गते) २३ देखि आगामी असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरूमध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही रू. ५० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
‘अनलाइन एकाउन्ट ओपनिङ च्यालेञ्ज’का लागि सहभागीले जतिसक्दो कम समयमा बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्ने छ । यस प्रतियोगितामा सहभागी हुनका लागि बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने, एकाउन्ट प्रोग्रेशनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सबसमटेडसम्म देखिने गरी स्क्रिनसट लिने, बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोष्टको कमेन्टमा ‘च्यालेञ्ज एसेप्टेड’ लेखी आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिनसट पोष्ट गर्नुपर्ने छ ।
यस्तै सहभागीले उक्त पिन्ड पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रूपमा शेयर गर्ने तथा बैंकको फेसबुक पेज र उक्त पिन्ड पोष्टलाई लाइक गर्नुपर्ने पनि बैंकले जानकारी दिएको छ ।
प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनोट गरी बैंकले प्रत्येकलाई एक/एक वटा स्मार्टवाच प्रदान गर्ने छ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने एकजना भाग्यमानी ग्राहकलाई आइफोन–१२ प्रदान गरिने योजना बैंकको छ ।
‘भिडियो च्यालेञ्ज’का लागि भने युटुबमा भिडियोहरू अपलोड गर्नेले बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा ब्लग बनाई प्रतियोगितामा सहभागी हुन सक्ने छन् । भिडियो बनाउँदा बैंकको ‘सहज रूपमा अनलाइन खाता प्रक्रिया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौती’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने बैंकको शर्त छ ।
सहभागीले आफूसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युटुबमा बैंकको आधिकारिक युटुब च्यानललाई ट्याग गरी #GharBataiOnlineKhata एवं #NICASIABANK उल्लेख गरी भिडियो अपलोड गर्नुपर्ने छ । सहभागी भएका भिडियोहरूमध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही रू. ५० हजार का दरले नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
FACEBOOK COMMENTS