काठमाडौं, असोज २६ – एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरी उक्त कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ । एनएमबि बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्र्ने देशको पहिलो र एकमात्र बैंक रहेको बताइएको छ ।
टेन्सेन्ट होल्डिंग्ससँगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको अवस्थामा यो सम्झौता भएको हो । ‘देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ । यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने छ ।
साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्नेछ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउँन समेत सहयोग पुग्नेछ’, बैंकको विज्ञप्तिमा भनिएको छ ।
विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।
FACEBOOK COMMENTS