काठमाडौं, कात्तिक २४ – कोभिड-१९ सङ्क्रमण नियन्त्रणमा सक्रिय रहेको केयर नेपालले समाज कल्याण परिषद्को सहयोगमा एलटिए रिसर्चमार्फत प्राप्त भएको साढे तीन करोड रुपैयाँ बराबरको पाँच लाख फेससिल्ड स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
कोभिड-१९को सङ्क्रमण बढेसँगै केयर नेपालले मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुका साथै द्रुत लैङ्गिक सर्वेक्षण, आफ्ना कार्यक्षेत्रमा होल्डिङ्ग सेन्टर\क्वारेन्टाइन सेन्टरलाई सहयोग, खानेपानी तथा सरसफाइ, खाद्य सामग्री सहयोग, महिला स्वास्थ्य स्वयंसेविकालाई सहयोग, जोखिम सूचना तथा सामाजिक सहभागिता आदिजस्ता जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यका काम गर्दै आएको छ।
सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले महामारीको समयमा विभिन्न संघसंस्था र साझेदारहरुको सहयोग र समन्वयले नेपाल सरकारको कोभिड प्रतिकार्यलाई निकै सहयोग पुगेको छ बताए। उनले मन्त्रालयलाई र अझ अग्रपङ्क्तीमा काम गर्ने सेवा प्रदायकहरुलाई विचार गरी गरिएको यो सहयोगका लागि केयर नेपाललाई धन्यवाद दिए।
समाज कल्याण परिषद्का सदस्यसचिव पुष्कर खातीले हालको महामारीको समयमा प्रतिकार्य गर्न सरकारसँगै अरु साझेदारहरुको पनि उत्तिकै भूमिका रहेको र सरकारले यो कुरालाई स्वीकार गर्दै आवश्यक सहयोग पनि गर्दै आएको बताए।
केयर नेपालका राष्ट्रिय निर्देशक रेचल वोल्फले महामारीको यो समयमा रोग नियन्त्रण, रोकथाम र दीर्घकालीन पुनर्लाभका लागि सरकार, नागरिक समाज, विकास साझेदारले मिलेर काम गर्न जरुरी भएको बताए। उनले यस कुरालाई केयर नेपालले राम्रोसँग बुझेर सरकारको होष्टेमा हैँसे गर्दै आएको उल्लेख गरेका थिए।
FACEBOOK COMMENTS