काठमाण्डौँ — बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको छ।
बौद्धनाथ क्षेत्र विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जात्राको तयारी पूरा भएको जानाकारी गराएको हो।
बौद्धमा वैशाख ५ गते र स्वयम्भूमा ६ गते तेमाल जात्रा निकालिने छ।
बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो।
चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ।
ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वलाई चैत पूर्णिमाको अघिल्लो दिन वैशाख ५ गते बौद्धमा भव्य र सभ्य रुपमा मनाइने समितिले जनाएको छ।
राष्ट्रिय पर्वका रुपमा मनाउन बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा विभिन्न संघसंस्था, गुठी, क्लब, र स्थानीय समाजसेवी बुद्धिजीवीको सहभागितामा ‘राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति’ गठन गरिएको छ।
यस जात्राको सांस्कृतिक गरिमालाई व्यापक रुपमा प्रचारप्रसार र संरक्षणमा सबै जुट्नुपर्ने समितिका प्रमुख कार्यकारी निर्देशक बसन्त लामाले बताए।
— नागरीक
FACEBOOK COMMENTS