काठमाडौं, पुस १३ – विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरू वैशाखसम्म आफ्नो पक्षमा आउने दाबी गरेका छन् । सोमवार राजधानीमा जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले जानेबुझेकै मान्छेहरू प्रतिगमनको मतियार भएको आरोप लगाएका हुन् ।
‘ओलीतिर जाने मान्छेहरू हामीले जानेबुझेकै हुन्,’ प्रचण्डले भने, ‘ती २–४ महिनापछि हामीतिर नै आउँछन् । वैशाखसम्म हेर्नुहोला, हामीतिर आउँछन् । उनीहरू अन्त जाने बाटो नै छैन । हामी क्षमा दिन सिपालु छौं ।’
प्रचण्डले लोकतन्त्रको क्रुर हत्या गरेको भन्दै ओलीमाथि आक्रोश पोखेका थिए । उनले जंगबहादुर राणाको बाटोमा ओली हिँड्न खोजेको आरोपसमेत लगाए ।
‘केपी ओली जंगेको बाटोमा हिँडेका छन्,’ प्रचण्डले भने, ‘उनी अब पराजित भए । हामीले विजय प्राप्त गर्यौं । केपी ओलीले हामीलाई जनतासँग जोडिने अवसर दिएका छन्, उनलाई धन्यवाद भन्न चाहन्छु ।’
FACEBOOK COMMENTS