काठमाडौं, जेठ ३० – नेपालीहरूको श्रम गन्तव्य कतारमा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ ।कतारले अबको १ महिनाभित्रै अधिकतम मानिसलाई खोप लगाएर कोभिड संक्रमितलाइ निको पारेर हर्ड इम्युनिटी हासिल गर्ने लक्ष्य लिएको पनि जनाएको छ ।
अहिलेसम्म कतारमा २७ लाख ८० हजार ९१६ जनाले कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाइसकेका छन् । खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई पनि खोप लिन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य निर्देशक शेख डा. मोहम्मद बिन हमद अल थानीलाई उद्धृत पेनिन्सुला कतारले जनाएको छ ।
कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना नयाँ संक्रमित थपिएका छन्। संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १९ हजार ६१३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामै थप २१५ जना संक्रमण मुक्त भएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १६ हजार ६९८ पुगेको भने संक्रमणबाट अहिलेसम्म ५७६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिले कतारमा २ हजार ३ सय ३९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १६५ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको छ ।कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
FACEBOOK COMMENTS