काठमाडौं, २१ जेठ – सरकारले कर भुक्तानी सीमा थप्ने तयारी गरेको बुझिएको छ । यस अघि जेठ २५ गतेसम्म कर भुक्तानी गर्न ताकेता गरेको सरकारले उक्त निर्णयलाई लिएर ब्यापक विरोध भएपछि कर भुक्तानी समय थप्न तयार भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलका क्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले कर भुक्तानी समय थप गर्न तयार रहेको बताएका हुन । महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, अर्का उपाध्यक्ष किशोर प्रधान र उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ सचिव ढुंगानासँग छलफल गर्न पुगेका थिए।
जेठ २० गते अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गरिसक्नुपर्ने ब्यहोराको सार्वजनिक सूचना जारी गरेको थियो।त्यस सुचनाले निजी क्षेत्र आतंकित र आन्दोलित बनेको थियो । एकातर्फ लकडाउन जारी रहेको अवस्था र अर्को तर्फ उद्योग ब्यापार ठप्प रहेको स्थितीमा सरकारले कर तिर्न उर्दी लगाउनुले सरकार निजी क्षेत्र प्रती अनुदार भएको प्रतिकृया आईरहेका छन् ।