काठमाडौं, पुस ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भङ्ग गर्नुपरेको बताएका छन् ।
बिहीबार बालुवाटारमा नेकपा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका हुन् ।
भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको, संविधान बनाएबापत नाकाबन्दी लागेको र नाकाबन्दीको सामना गरेबापत आफुलाई घेराबन्दीमा पारिएको उनले बताए ।
प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य गरे । उनले भने, ‘न जनयुद्धमा लागेका न आन्दोलनमा सहभागी भए, नारायणकाजीले आन्दोलन गर्ने रे, हामीविरुद्ध,’ उनले खिस्युटिरीको भाषामा भने ।
उनले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए । त्यस्तै उनले संसद पुनर्स्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद विघटन पुनर्स्थापना हुने सम्भावना नरहेको धारणा पनि राखे ।
प्रधानमन्त्री ओलीले अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने धारणा राखे ।
FACEBOOK COMMENTS