काठमाडौं, चैत २२ –नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएका छन्। अधिकारीले दिएको राजीनामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको छ। क्रियाशील सदस्यता वितरण र नवीकरणमा समयमा नसकिनुमा पार्टीबाट असहयोग भएको भन्दै उनले विगतमा असन्तुष्टि जनाउँदै आएका थिए।
पार्टीले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि पटक-पटक समय थपे पनि कार्यतालिकाअनुसार काम भएको छैन। पार्टी केन्द्र तथा तल्लो तहका कार्यसमितिले असहयोग गर्दा कार्यतालिका अनुसार काम गर्न नसकिएको निर्वाचन समितिका सदस्यहरुले बताउँदै आएका छन्। २०७५ को चैतमा अधिकारीको संयोजकत्वमा गोपालकृष्ण घिमिरे, सीताराम केसी, खम्बबहादुर खाती र एकराज पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो।
पछिल्लो समय चैत मसान्तसम्मका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको नाम केन्द्रमा पठाउने समय तोकिएको छ। नाै जिल्लाले हालसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य थालनी गरेका छैनन्।
निर्वाचन समितिले क्रियाशील सदस्यता तथा पार्टीका सबै तहका निर्वाचनका मतदाताहरुको विवरण राख्ने र अद्यावधिक कार्य गर्ने जिम्मेवारी रहेको हुन्छ। पार्टी संरचनाका हुने निर्वाचनको कार्यतालिका पनि निर्वाचन समितिले बनाउँछ। निर्वाचन समितिले आफ्ना कार्य पार्टी केन्द्रीय समितिलाई बुझाउनुपर्ने हुन्छ।
FACEBOOK COMMENTS