काठमाडौं, पुस २८ – काठमाडौं महानगरपालिकाकले महानगर भित्रका करिब ६० किलोमीटर क्षेत्रमा आधुनिक प्रकारका ‘स्ट्रिट लाइट’ राख्न प्रक्रिया सुरु गरेको छ । शहर भित्रका अधिकांश सडक रातको समयमा अन्धकार रहँदै आएकोमा महानगरपालिकाले चक्रपथ भित्रका मुख्य सडडक, चोक र भीआइपी क्षेत्रमा गरी करिब ६० किलोमीटर क्षेत्रमा आधुनिक प्रकारका ‘स्ट्रिट लाइट’ राख्न लागेको हो ।
काठमाडौं महानगरपालिकाका पुर्वाधार विकास विभाग प्रमुख राम थापाका अनुसार करिब ११ करोडको लागतमा महानगरले ‘मेयर उज्यालो’ कार्यक्रम अन्तर्गत सडकमा बत्ति राख्न प्रक्रिया अघि बढाउँदै छ । त्यसका विद्युत प्राधिकरण र सडक विभागसँगको महानगरले सम्झौता समेत गरिसकेको छ भने बत्ति राख्ने प्रक्रियाका लागि टेन्डर आहवानको तयारी भइरहेको छ । महानगर र प्राधिकरणबीचको सम्झौतामा महानगरको ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने उल्लेख छ ।
विभागका प्रमुख थापाका अनुसार पहिलो चरणमा चक्रपथ भित्रका मुख्य सडक, मुख्य चोक, भीआइपी क्षेत्र, प्रसासनिक क्षेत्रमा गरी १ हजार ७ सय ५० ‘स्ट्रिट लाइट’ राखिने छ ।
पहिलो चरणमा राखिने बत्तिहरु मुलुकको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकीसम्म, फेरी त्रिपुरेश्वरहुँदै रत्नपार्क, जमल, लैनचौरदेखि महाराजगंजसम्म र सिंहदरबार चारैतर्फ, पुतली सडकदेखि बालुवाटारसम्म र विमानस्थलदेखि गौशालाहुँदै चाबहिलमा रहेको हायात होटलसम्मको सडकमा राखिनेछ ।
‘पहिलो चरणमा सडकमा हाल कायम रहेका पोलहरुमा नै बत्तिहरुको रिप्लेसमेन्ट हुन्छ, सोलार राखिएका पोलहरुमा पनि कतिपय बत्ति बल्दैनन, ति पालेमा पनि नयाँ बत्ति राखिन्छ’ महानगरपालिकाका पुर्वाधार विकास विभाग प्रमुख थापाले हाम्राकुरासँग भने ।
यो प्रक्रिया अघि बढेपछि पुनः काठमाडौं भित्रका पार्क तथा मुख्य चोकहरुमा चालिस देखि पचास फिट अग्ला नयाँ पोलहरु राखेर ‘हाइमास्ट लाइट’ राख्ने महानगरको तयारी छ । सो प्रकारका उच्च प्रकाश फाल्ने बत्तिहरु करिब ८० स्थानमा राख्न महानगरपालिकाले सर्वे समेत गरिसकेको छ ।
त्रिपक्षीय सहमती पत्रमा बत्ती जडानका लागि लागतअनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्नेलगायतका काम प्राधिकरणले गर्ने उल्लेख छ ।
यसैगरी नयाँ पोल थप गर्नका लागि स्थाको स्वीकृति दिने, बत्ती जडानका क्रममा बिग्रिने फुटपाथलगायतका संरचनाको निर्माण गर्ने काम सडक विभागले गर्ने तीन वटै निकाय बीच सहमती छ ।
FACEBOOK COMMENTS