काठमाडौं- सरकारले कोरोना संक्रमण ९कोभिड(१९० संक्रमणको जोखिम मुल्यांकन गर्दै लकडाउनलाई कडाइ गरेको छ। गृह मन्त्रालयले ‘बन्दाबन्दी व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७’ जारी गर्दै लकडाउन पालना गर्न सुरक्षा निकाय, उद्योगी, व्यवसायी, सेवाग्राही, मजदुर लगायतलाई निर्देशन दिएको छ।
मापदण्ड अनुसार अब अत्यावश्यक कामबाहेक राति १०देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाईने छैन। लकडाउन खुकुलो पार्दा रातको समयमा सुरक्षाकर्मीको आँखा छलेर एकबाट अर्को जिल्लामा प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम अझ बढ्ने ठहर गर्दै गृहले नयाँ मापदण्ड अघि सारेको हो। मालसामान ढुवानी गर्ने सवारी साधनमा चालक र सहचालकबाहेक अरु चढ्न नपाउने नियम लागू गरिएको गृहले जनाएको छ।
आवतजावत गर्दा र कार्यालयमा रहँदासमेत दुई मिटरको दुरी कायम गर्न मन्त्रालयले सुझाएको छ। नयाँ मापदण्ड अनुसार विवाह, मृत्यु संस्कार, चाडपर्व, पुजापाठ लगायतका सामाजिक तथा सांस्कृतिक कार्यमा दुई मिटर दुरी काय गर्नुपर्ने र बढीमा १५ जना मात्रै भेला हुन पाउने छन्। उत्पादन मुलक क्रियाकलाप, उद्योग कलकारखाना, भौतिक पूर्वाधार निर्माण लगायतका काम गर्दा एक स्थानबाट एक पटकमा १० जना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने नयाँ व्यवस्था निर्धारण गरिएको छ।
उक्त नियमबारे व्यवस्थापन, निर्माणकर्ता, उद्योगी, व्यवसायीले ख्याल गर्नुपर्ने र कामदारले अनावश्यक भीडभाड नगर्न मन्त्रालयले निर्देशन दिएको छ। जेष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, गर्भवती र १० वर्षभन्दा कम उमेरका बालबालिका र अशक्तलाई अत्यावश्यक तथा स्वास्थ्य प्रयोजनबाहेक परिवारले आफ्नै घरमा बस्न प्रोत्साहन गर्नसमेत गृहले सुझाएको छ।
गृह सचिव महेश्वर न्यौपानेका अनुसार संक्रमण थप फैलन नदिन होल्डिङ सेन्टर, आईसोलेसन कक्ष, सेल्फ आईसोलेसन, क्वारेन्टाइन कक्ष ९होम क्वारेन्टाइन र अन्य क्वारेन्टाइन० र सघन उपचार कक्षमा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको छ। नागरिक सचेत भए कोरोना संक्रमणको जोखिम न्यूनिकरणमा थप टेवा पुग्ने उनले बताए। न्यौपानेले भने,‘मन्त्रालयले धेरै सोचेरै यो मापदण्ड तय गरेको हो। जसले मापदण्ड उल्लंघन गर्छ उसलाई कारबाही हुन्छ।’ मापदण्ड उल्लंघन गर्नेलार्ई अत्यावश्यक सेवा ऐन, २०१४, संक्रामक रोग ऐन, २०२०, मुलुकी अपराध संहिता, २०७४ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने उनले जानकारी दिए।
FACEBOOK COMMENTS