काठमाडौं, भदौ ११ – चार महिना लामो लकडाउन साउन ७ मा हट्यो। लकडाउनकै बेला कोही बाध्यताले त कोही बाहना बनाएर काठमाडौं आउजाउ गरिरहे। तर, लकडाउन नै हटेपछि भने काठमाडौं उपत्यका आउनेको संख्या ह्वात्तै बढ्यो।
उपत्यकाको चहलपहल बढेसँगै कोभिड-१९ संक्रमणको ग्राफ पनि बढदो क्रममा छ। संक्रमण व्यापक हुन थालेपछि उपत्यकामा संक्रमण नियन्त्रण बाहिर जाने भन्दै भदौ ३ मा निषेधाज्ञा गरियो। तर, निषेधाज्ञापछि मात्रै बुधवारसम्म १ हजार ६ सय ७९ जना संक्रमित उपत्यकामा थपिएका छन्। हालसम्म उपत्यकामा ४ हजार ७९ जना संक्रमित छन्। निषेधाज्ञा अघिसम्म २३ सय ४० जना मात्रै उपत्यकामा संक्रमित थिए। सरकारले फेरि एक हप्ता (भदौ १७) सम्मका लागि निषेधाज्ञा थप गरेको छ।
निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा झण्डै दैनिक २ सय संक्रमित थपिइरहेका छन्। उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा संक्रमित थपिने दर उच्च छ। बुधवार रातिदेखि गरिएको निषेधाज्ञाको पहिलो दिन बिहीवार उपत्यकामा २ सय जना संक्रमित थपिएका थिए। त्यो पछिल्लो दिन शुक्रवार १ सय ८२ र शनिवार १ सय ६० जना संक्रमति थपिएका थिए। आइतवार १ सय ६६, सोमवार २ सय ४४ र मंगलवार २ सय ३२ जनासंक्रमित थपिएका थिए। बुधवार संक्रमित संख्या बढेर ३ सय १ पुगेको छ। हाल सम्म देशभर ३४ हजार ४ सय १८ छ भने १ सय ७५ जनाको मृत्यु भएको छ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिले देखिरहेको संक्रमित निषेधाज्ञाअघि नै संक्रमण भएको ब्यक्तिहरु हुनसक्ने बताए। लकडाउन खोलेपछि मानिसहरुको चहलपहल बढ्दा अहिले संक्रमित संख्या बढेको उनको भनाई छ।
‘लकडाउन खोल्ने बितिकै मानिसहरु एकै पटक बाहिर आए। त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन,’ उनले भने। जनस्वास्थ्यका मापदण्ड पालना नभएमा संक्रमण केही समयका लागि रोकिने र फेरि पिकमा पुग्ने खतरा हुने उनले बताए। निषेधाज्ञा प्रभावकारी भए नभएको कम्तीमा पनि दुई हप्तापछि मात्रै थाहा हुने पुनको भनाई छ।
‘निषेधाज्ञा कस्तो रह्यो भनी थाह पाउन पनि दुई हप्ता कुर्नुपर्छ। १४ दिनसम्म त पुरानै संक्रमण देखिने भो नि, ‘ उनले भने। तर, दुई हप्तापछि पनि संक्रमित संख्यामा कमी नआएमा निषेधाज्ञाकैबीच पनि संक्रमण फैलिएको हुने उनले बताए।
पुनले लकडाउन खोल्दा जनस्वास्थ्यका मापदण्ड पालनाबारे समीक्षा नभएको बताए। निषेधाज्ञा भनेर सरोकारवाला निकाय ढुक्कसँग बस्न नहुने उनको सुझाव छ। जति धेरै जनस्वास्थ्यका मापदण्ड पालना गरियो त्यति नै निषेधाज्ञा सफल हुने उनले बताए।
FACEBOOK COMMENTS