काठमाडौं, असोज ४ – शनिबार सार्वजनिका गरिएको रिपोर्टअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरका ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। देशभरिमा १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएकोमा काठमाडौं उपत्यकामा मात्रै करिब ६० प्रतिशत रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार उपत्यकामा कुल संक्रमितको संख्या १५ हजार ८ सय ४९ पुगेको छ। तीमध्ये काठमाडौंका १३ हजार १४, ललितपुरका १ हजार ४ सय ८४ र भक्तपुरका १ हजार ३ सय ५१ जना छन्। उपत्यकामा मात्र ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित उपचाररत छन्। तीमध्ये काठमाडौंमा ६ हजार ६ सय ६ जना, भक्तपुरमा ६ सय ६५ जना र ललितपुरमा ५ सय ८४ जना छन्। उपत्यकामा ७ हजार ९ सय ९४ जना निको भएर घर फर्केका छन्।
पछिल्लो एक साताको तथ्यांक हेर्दा उपत्यकामा कोरोनाको अवस्था भयावय हँुदै गएको छ। उपत्यकामा असोज १ गतेदेखि पूर्ण रूपमा बजार खुलेको छ भने यातायातको चाप पनि बढेको छ। यसले झनै कोरोना संक्रमण फैलाउने खतरा बढेको छ। पछिल्लो समय तीव्र गतिमा कोराना संक्रमण फैलिएको तथ्यांकले देखाउँछ। पछिल्लो एक सातामा नेपालमा ९ हजार ६ सय ७७ जना संक्रमित थपिए, जसमध्ये उपत्यकामा मात्रै ३ हजार ९ सय ९९ जना छन्। सोही अवधिमा ७ हजार ७ सय ४३ जना डिस्चार्ज भएका छन् भने ६५ जनाको मृत्यु भएको छ।
शनिबार सार्वजनिक भएको तथ्यांक जोड्दा उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार ८ सय ४९ पुगेको छ। जसमध्ये काठमाडौंमा १३ हजार १४, ललितपुरमा १ हजार ४ सय ८४ र भक्तपुरमा १ हजार ३ सय ५१ छन्। महाशाखाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ भने ४५ हजार २ सय ६७ जना निको भइसकेका छन्। कुल संक्रमितको २५ प्रतिशत संक्रमित उपत्यकाका छन्। अहिले देशभरिमा १७ हजार १ सय २९ जना सक्रिय संक्रमित छन्। तीमध्ये उपत्यकामा मात्र ७ हजार ८ सय ५५ जना छन्। यो कुल सक्रिय संक्रमितको झन्डै ४६ प्रतिशत हो।
FACEBOOK COMMENTS